Saturday, June 15, 2019

गुथि सामन्ती अवशेष हो कि समृद्धिको चावि?

गुथि सामन्ती अवशेष हो कि समृद्धिको चावि?

(Source : Roshan Shrestha's Facebook Page)


आत्मिय भाइ तथा मित्र रविन्द्र सुवालले बताए

"ईतिहास कोत्लदा सामन्तीहरुले आफ्नो वा किसान स्वयंमले कमाई आएको जग्गा जमिन मोहि किसानले नपाओस भनि गुठिमा दर्ज गर्ने गरेको ... ।"

यसमाथि छोटो टिप्पणी गरें

"यो विचार तथ्य नभइ गुथि जग्गा निजि स्वामित्त्वमा लिएर बेचेर बेचाएर खान पल्केकाहरुले फैलाएको भ्रम हो - त्यो पहिला स्पष्ट हुनु पर्छ।"

तर गुथिलाइ पुरातन सामन्ती व्यवस्थाको अवशेषको रुपमा दुष्प्रचार गरी यसको समूल नष्ट गर्न खोजेको आशय सरकारका प्रवक्ता कै मुखबाट सुने पछि भने तिनका टाट पल्टेको वैचारीक धरातल सित विस्मित हुनुको विकल्प बाँकि रहेन । धत् कस्ता कस्ता नालायकहरु देशमा रजाँइ गरीरहेछन् त ।

भ्रमको आधार:

गुथि कस्तो संस्था हो? के गर्छ गुथिले? कसरी चल्छ? कसरी चलाउँछ? यी कुराहरु शासकले मतलब नै राखेको रैनछ । गुथि संस्थान देखि गुथि सम्बन्धित नियम विनियमहरु हेर्नोस, अधिकांश ती सबै जग्गा सित मात्रै जोडिएको छ । भुमिब्यवस्थाको सवालमा बाहेक अन्यत्र गुथिको जिकिर गरेको भेट्टाउन मुश्किल छ ।

जस्तो कि गुथि संस्थानको दस्तावेजमा भनिएको छ - 'गुथिले जात्रा चलाउँछ'। तर त्यो गलत जानकारी हो । सहि जानकारी त 'जात्रा चलाउन गुथि राखिएको छ' पो हो त। के यी दुइबीच फरक छैन र? जब विगत ५५ वर्ष देखि गुथिको आधिकारीक निकाय मानिएको संस्थाको आधारभुत मान्यता नै गलत छ, अनि गुथिबारे भ्रम हुँदैन त?

त्यसबाहेक आयातित विचारधाराहरुको लेपनमा गुथि संरचनालाइ जबरजस्ती सामन्ती र पुराना अवशेषको रुपमा एकांगी विश्लेषण थोपरिएको छ। गुथि के हो के होइन भनेर सैद्धान्तिक बहस भएको छैन । शोषक र शोषित, नाफा र नोक्सान, जस्ता साँघुरा आधुनिक दायरामा यो विषय अट्दैन । तैपनि जबर्जस्ति यिनै थोत्रा दायराको घेराभित्रै समेटेर बुझ्न खोज्दा गुथिबारे भ्रम हुनु स्वभाविकै भयो ।

इतिहास र वर्तमान:

गुथिको इतिहास अनवरत २००० वर्ष हाराहारीको छ । नेवार सभ्यताको मूल चुरो नै गुथि हो । अरु समुदायमा पनि आक्कलझुक्कल भेटिने गरेको गुथि, नेवार समुदायबाट प्रेरित हो भन्ने हाम्रो दाबि छ। नेवार जीवनपद्धतिको जिउँदो संस्कृति र अभिन्न अंग बनेको गुथि यति ब्यापक छ कि, आधुनिक कालमा अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, यूरोप, जापान, कोरीया, मध्यपूर्व आदि क्षेत्रमा पुगेका नेवारहरु पनि गुथि अंगिकार गरीरहेका छन्। हामीले भर्खरै केहि समयअघि हाम्रो गुथिको दशौं बर्षगाँठ मनायौ, भने हाम्रै शहरमा ३ दशक भन्दा पुराना नेवार गुथि अनवरत सञ्चालित छ ।

गुथिका प्रकारहरु:

प्राय: मानिसहरु गुथिलाइ धार्मिक, सामाजिक, निजि भनी वर्गीकरण गर्छन । तर यतिले गुथिका प्रकारहरुलाइ न्याय गर्दैन । धेरै धेरै प्रकारका गुथिहरु छन् जसको संचालन तालिका र तौरतरिकाहरु फरक फरक छन । जस्तो कि

१ - निजि पारिवारीक गुथि (दाजुकिजापिं, थ:थितिपिं, फुकि खल:, आचा:गुथि, बरे गुथि, कसा:गुथि, न्ह्ययस:सायमिगुथि),

२ - द्य:गुथि (गनेद्य:, महाद्य:, नारांद्य:, लाखे, दागिं),

३ - जात्रा गुथि (कुमारी, बुँगद्य:, विस्का:, मतया:, सम्यक, पंजरां, ),

४ - पुजा गुथि (देपुजा गुथि, भिंद्य:पुजा गुथि, श्रीपञ्चमी गुथि, धलं गुथि, पंजरां गुथि),

५ - सना:गुथि, सी गुथि (सदगत यायेगु),

६ - भाइगुथि (सुख दुख या खबर थ:थितिपिन्त न्यंकेगु, छैज्याय् ग्वहालि यायेगु),

७ - सेवागुथि (ल:गुथि, साख:ति गुथि, चिकं गुथि, मिं गुथि, ईलचं गुथि, बौमत, हिउमत, अगिंमथ)

८ - कृषिगुथि (लै पिइगु, वापुसा, पुवा:चा, ध:चायेकेगु तिइगु, ध: ल्हायेगु)

९ - इन्फ्रास्ट्रक्चर मर्मतसंभार यायेगु गुथि (फल्चा, बल्चा, गा:हिति, पुखू, ध:, चुक, तुँ, देग:, चिभा:, ताँम, ताँपु, लँ, दबू, गुथि, दिप, बहा:, चुक, ननि, ज:धुं, ल्वँहहिति, सत:)

१० - नेचुरल रिसोर्सेस म्यानेजमेन्ट यायेगु गुथि (गुँ, दोफो, खुसि, खुचा, ख्य:, दिगुख्य:)

११ - पेशागत गुथि (धुँसि गुथि, सिज: गुथि, हाकुचा गुथि, काँय् गुथि, सा:गुथि, मूल्ह्वं गुथि, क:मिगुथि, ज्यापुगुथि, साय्‌मिगुथि)

१२ - वर्गीय गुथि (ल्यायम्ह गुथि, मिसागुथि, अजिगुथि)

१३ - कचा गुथि (त:धंगु गुथि या हाकनं ची ची धंगु कचा गुथि गथेकि द्य:छायेगु गुथि, भाजिजु गुथि, जुसिनाजु गुथि, च्वयेके गुथि)

१४ - तिथिगुथि (एकादशी गुथि, च:ह्रे गुथि, पुन्हि गुथि)

१५ - लहरबहर गुथि (नास:गुथि, गुँभ्वय् गुथि,)

यसरी धेरै धेरै प्रकारका गुथिहरु अस्तित्वमा छन् र ती अनवरत संचालन भइरहेका पनि छन ।

गुथि र जीवनचक्र:

नेवार जीवनचक्रको लगभग सम्पूर्ण कर्तव्य र दायित्त्वहरु गुथि परम्पराकै वरीपरी घुमेको हुन्छ । गुथिकै कारण उनीहरुको जीवन सरल सहज र सरस हुन्छ । अनगिन्ति प्रकारका गुथिहरुले नेवारसमाजलाइ समुहमा जिउन सिकाउँछ । यस अर्थमा भन्ने हो आधुनिक जमानामा खुलेका सहकारी अथवा क्लब अथवा समुह (आमा समुह, बचत समुह) जस्तै हो ।

गुथिले नै नेवारलाइ एकापसमा बहस विवाद गर्न सिकाउँछ, नियम विनियम पालन गर्न सिकाउँछ, नियम पालन भए नभएको सरोकार राख्न सिकाउँछ, बिमतिहरु निर्धक्क अभिब्यक्त गर्न सिकाउँछ, यसकारण गुथि अधिकांशको लागि बहस झगडाको स्रोत पनि हो ।

गुथि र झगडा:

गुथिमा झगडा धेरै हुन्छ भन्ने सामाजिक मान्यता नै छ, जसलाइ यूवा पुस्ता उत्तिसारो मन पराउँदैनन । गुथिको भोज पालो अनुसार धेरै वर्ष अन्तरालमा एकपटक आप्नो घरमा हुन्छ, तर त्यो घमासान झगडाको थलो बनेको देखेर गुथि प्रति नकारात्मक सोच्छन । गुथि परित्याग गर्नेहरु अधिकांशले गुथिमा हुने झगडाका कारण आफ्नो विकर्षण बढेको कुरा बताउँछन् । तर गुथिको झगडामा सामेल हुनेले धेरै कुराहरु सिकीरहेका पनि हुन्छन् जुन आधुनिक शिक्षापद्धतिले सिकाउनै सक्दैन । करुणा, तर्क, बचावट र सम्झौताका अल्याख पहलुहरु गुथिले सिकाउने हुनाले गुथिमा लागेर हुर्केका यूवाहरु अरुको दाँजोमा सुशील, सुसंस्कृत र सफल हुने गरेको देखिन्छ ।

गुथिका स्रोतहरु: के किसानको जग्गा लुटेर गुथिमा राखेको हो?

गुथिका गतिविधिहरु गर्नको लागि आर्थिक स्रोत मुख्यत: गुथियारहरुको दान नै हो । यसरी दान गरेर कार्यसम्पादन गर्न सँधै सम्भव नहुने हुनाले अक्षयकोषको रुपमा भुमि नै गुथिमातहत राख्ने र उक्त भुमिको आम्दानीबाट आर्थिक स्रोत जुटाउने ब्यवस्था गरियो । धार्मिक, सामाजिक, सामुहिक कामको लागि चाहिने खर्चको जोहो गर्न जग्गा तथा गरगहना दान दिने दातालुहरुको उदारता नै गुथिको आर्थिक स्रोत हो । कृषिप्रधान अर्थतन्त्र हुँदाताका भुमि नै अक्षय सम्पत्ति हुनाले गुथिलाइ भुमिदान दिइ गुथिको काम निर्वाध संचालन गर्नु सबभन्दा उत्तम उपाय थियो ।

बाध्यतावश करकापमा कसैको पनि जग्गा गुथिमा दर्ज गरेको इतिहास छैन । धर्मको नाउँमा मानिसहरु स्वेच्छाले जग्गा नमासियोस भनी गुथिमा दर्ज गरेको इतिहास पाइन्छ ।थुप्रै अभिलेखहरु जग्गा गुथिमा दर्ज गरी आयस्ता सुरक्षित गरेको प्रमाण पाइन्छ ।

राणा शाहहरुले किसानको जग्गा जबरजस्ति धम्काएर सस्तो दाममा किने झै, सर्वस्व हरणको अभियोगमा लुटे झै, कुनै पनि गुथिले किसानको इच्छा बिपरीत जग्गा खोसेर गुथिमा दर्ज गरेको भन्ने कुरा इतिहासमा कतै स्थापित छैन । जतिपनि गुथिको जग्गा छ, पूर्खाले धर्म र लोक कल्याणको निमित्त स्वेच्छाले राखेको हो ।

राजनीतिक उथलपुथलको क्रममा जितेका पक्षले हारेका पक्षका श्रीसम्पत्ति लुट्ने चलन थियो । यस्तो अवस्थामा यदि जित्ने पक्षमा धार्मिक आस्था प्रवल भए हार्ने पक्षले आफ्ना श्रीसम्पत्तिहरु गुथिको नाउँमा दाखिला गरेर खोसुवा वा लूटबाट सुरक्षित राख्न सक्थे। कतिपय गुथिहरुले त्यसरी पनि जग्गा आर्जन गरेको छ। अधिकांश जग्गाहरु यसरी गुथिमा राखेको, र गुथिको जग्गा खोसेर लिए पाप लाग्छ भन्ने विश्वास दह्रो हुनाले मल्लकालमा जग्गाको लागि एकापसमा लडाइ हुन नै बन्द भयो । गुथिमा जग्गा राख्नु त्यसबेला स्वत:स्फुर्त शान्तिको लागि योगदान थियो ।

कुनै ठूला मन्दिर तथा निर्माण कार्य गर्न परे तात्कालिन राजा तथा भारदारहरुले जनतासित गुथिको निमित्त जग्गा दान दिन आमन्त्रण गरिन्थ्यो । यसरी गुथिलाइ जग्गा दान दिँदा उक्त जग्गाबाट कमाएर शासकलाइ तिर्नु पर्ने कर तिर्नुपर्दैन थियो र जग्गा आफैले कमाइराख्न छुट थियो । अर्थात, आफ्नो जग्गा, आफैले कमाउने अधिकार, अनि शासकलाइ तिर्नुपर्ने कर आफुले इच्छाएको मन्दिर वा निर्माण कार्यलाइ तिर्ने - यस्तो खालको ब्यवस्था अमेरिकामा प्रचलित ५०१सि सित मिल्दोजुल्दो छ, जुन अत्याधुनिक अर्थब्यवस्थाले अँगालेको सामाजिक परोपकारी ब्यवस्था हो र यस्तो उन्नत ब्यवस्था नेवारसमाजले हजारौ वर्ष अगाडि नै प्रयोग गरेका थिए ।

यसरी मन्दिरगुथिलाइ जग्गा दिदा कर आफुले इच्छाएको ठाउँमा खर्च हुने मात्र नभए आफ्नो जग्गा पुस्तौपुस्ताको निमित्त पारिवारीक सुरक्षामा रहने ग्यारेन्टी पनि भयो । मेरा पुर्खाले सिनामंगलको ५० रोपनी जग्गा त्यसरी रणबहादुर शाहको पालामा पशुपति गुथिमा चढाएको कुरा बाजेहरुले बताउनुभएको थियो । जुन जग्गा पछि ९० सालको ठूलो भुकम्प पछाडि भुकम्प पिडितहरुलाइ पुनर्स्थापना गर्न जुद्धशम्शेरले प्रयोग गरे ।

हैजा, बिफर जस्ता रोगब्याधि महामारी फैलदा, अनिकालादी पर्दा तात्कालीन समयको धार्मिक समाजले देविदेवता पुकारेर भाकल गर्ने गर्थे । थरी थरीका भाकलमध्य जग्गा देवताको नाउँमा चढाउने भाकल पनि एक प्रख्यात भाकल थियो । यसरी चढाएको जग्गाको मतलब जग्गाबाट उत्पादित निश्चित अंश ती देवदेविताको कोषमा दाखिला गर्ने, र जग्गा भोगचलन आफैले गर्ने ब्यवस्था नै हो । कथंकदाचित रोगब्याधिका कारण परिवार समूल नष्टभए गुथिको तजबीजमा त्यो जग्गा अर्को किसानलाइ कमाउन दिन सकिन्थ्यो । अर्थात यसरी गुथिलाइ प्राप्त जग्गा एक हिसाबले अपुताली ब्यवस्थापन सरह नै हो ।

यी सबै जग्गाको स्रोतहरु हेरेपछि तपाइ के सोच्नु हुन्छ? किसानको जग्गा लुटेर गुथिमा राखेको भन्ने कुरा कहाँबाट आयो? थाहा पाइराख्नो, यो भ्रम हो, जुन हालसालै मात्र भु-माफियाहरुले नियोजित रुपमा प्रचार गरेको भ्रम हो। इतिहासको कुनै पनि तथ्यले त्यो दावि पुष्टि गर्ने आधार दिदैन ।

गुथिजग्गा कमाउने प्रथा:

गुथिलाइ दान दिएको जग्गा जो सुकैले कमाउन पाउन्थ्यो । गुथियारले मात्रै कमाउनु पर्ने जस्ता सिमितता थिएन । जग्गा कमाए वापत पसिना बगाउने किसान (मोही)ले पनि आम्दानी राख्न पाउनु पर्यो । यसैले निश्चित आयस्ता गुथिलाइ त:सिंभाग बुझाउने र बाँकि किसानले मोहीभाग राख्नपाउने ब्यवस्था भयो । मोहीभाग कति र त:सिंभाग कति भन्ने कुरा आपस बीच समझदारी अनुसार नै थियो । सामन्त राजा र प्रभावशाली भारदारहरुको स्वामित्त्वमा रहेको गुथिहरुमा मोहिभाग कम हुन्थ्यो । तर सामाजिक कामको लागि छुटाइएको देवगुथि, मन्दिर, र निजि गुथिहरुमा भने मोहिभाग मनग्य थियो । जमिनको उत्पादकत्त्व धेरै हुने हुनाले आधाआधा बाँडेर लिंदा पनि जीवन गुजार्न यथेष्ट पुग्दो थियो । यदि त्यसो नहुँदो हो त नेवार समाजको यति खर्चिलो रितिरिवाज, परम्परा, सम्पदा र संस्कृति जीवन्त रुपमा शताव्दियौं सम्म सस्टेन नहुँदो हो ।

गुथिको जग्गा जसले कमायो, उसले 'म सक्दिन' नभनुञ्जेल अरुलाइ कमाउन दिन पाइदैन थियो । जग्गा कमाउने अधिकार नयाँ पुस्तामा समेत हस्तान्तरण हुन्थ्यो । यदि जग्गा कमाउन चाहेन वा सकेन भने स्वेच्छाले मोहिअधिकार त्याग्न पाइन्थ्यो । अर्थात मोहि अधिकार किसानको हक होइन सुविधा थियो ।

गुथिजग्गाको मालिक गुथियार हो?

गुथिको जग्गाबाट प्राप्त त:सिंभाग संकलन र परिचालन गर्ने काम गुथियारले गर्छन । यसकारण धेरैले भन्ठान्छन् कि गुथियार नै गुथिजग्गाको मालिक हो, तर गुथिजग्गा वास्तवमा गुथियारको स्वामित्त्व होइन थिएन । गुथियार भनेका गुथिको निश्चित नियम र कर्तव्य पालन गर्नै पर्ने बाध्यात्मक नितिनियमहरु भित्र बस्ने सदस्यहरु मात्रै हुन् । कथं कदाचित गुथियार कर्तव्यच्यूत भएमा गुथिबाट निष्कासित हुन्छ । यसरी निष्कासित गुथियारले गुथिको कुनै पनि जग्गाजमिन वा सम्पत्तिमा हकदावि गर्न पाइदैन । यसबाट स्पष्ट हुन्छ कि गुथियारको स्वामित्त्व हक होइन कर्तव्य थियो ।

गुथिजग्गाको मालिक को हो?

गुथि जग्गा न मोहिको हो, न गुथियारको हो । त्यो जग्गा जुन प्रयोजनको लागि राखेको थियो, सो प्रयोजन निमित्त कर्तव्यपालन गर्नेले रेखदेख गर्ने हो । गुथिजग्गाको मालिक गुथि आफैं हो ।

गुथिजग्गा समस्याको शुरुवात:

शासकहरुका आम्दानी भनेको कर संकलन हो । गुथिजग्गाको आम्दानी पुण्यको काम तथा सामाजिक काममा लगाइने हुँदा पहिलेका धार्मिक चरित्रका शासकहरुले कर उठाउँदैनथे । पछिल्लो समयमा, विशेषत राणाकालमा शासकहरुले उनीहरुको विलासिता र शानसौकतको प्रतिस्पर्धाको निमित्त कर बढी उठाउने उपायहरु खोजे, तैपनि गुथिजग्गाबाट सिधै कर उठाउन नैतिक अप्ठेरो परेको थियो । त्यसैले शासकहरुले गुथिजग्गाबाट कर उठाउन जुक्ति लगाउन थाले । कस्ता कस्ता गुथिजग्गाबाट कर उठाउने, कसरी कर उठाउने जस्ता प्रावधानहरु बनाउने क्रममा गुथिजग्गाको वर्गीकरण गर्न थाले ।

पहिलो वर्गीकरण - राजगुथि, छुट गुथि, निजि गुथि : यसमा राजगुथि भनेका राजामहाराजाको प्रत्यक्ष संलग्नता रहेका ठूला ठूला मन्दिर तथा धेरै धेरै जग्गा भएक गुथिहरु, जसलाइ राज्यले नै प्रत्यक्ष चलाएको मानिन्थ्यो । मल्लकालमा नेवार गुथियार, नेवार शासक, तथा लोककल्याणकारी सोचाइ ब्याप्त हुँदा ठूला गुथिहरु सञ्चालन सहज थियो । शाहले सत्ता हत्याएपछि पनि तिनले यी गुथिहरु चल्न दिए । गिर्वाणयूद्धले २२४ मुरी धान फल्ने जग्गा गुथिमा राखेको इतिहास छ । रणबहादुरले पनि राखेका छन । गुथि मास्न नहुने संपदाको रुपमा शाहकालका अघिल्ला राजाहरुले लिएको देखिन्छ । राणाकालको पछिल्लो समयमा यस्ता गुथि मातहत रहेको जग्गाहरु कमाउने मोहीले मोहीभाग सिधै राज्यकोषमा दाखिला गर्ने र राज्यले नै चलिआएको नियमबमोजिम खर्चपर्च गुथियारहरुलाइ दिनथालियो । राज्यले नै संचालन गरेको गुथि भएकोले यिनलाइ राजगुथि भनियो ।

निजि गुथि भनेको त्यस्तो गुथि, जहाँ राज्य संलग्न छैन र जग्गा कमाउने मोहीले गुथियारलाइ नै सिधै मोहिभाग बुझाउथ्यो । छुट गुथि भनेको राजगुथि नै हो, तर लगतमा छुट भएको । कसैकसैले यो निजि गुथि नै हो, जसलाइ राजगुथि बनाउन बाँकि भनेर छुट गुथि भनेको पनि भन्दछन ।

स्मरण रहोस, नेवार परम्परामुताविक, मोहिले कमाएको जग्गाको आम्दानीको पहिलो हकदार गुथिको काम कर्तव्य उद्देश्यपुर्ति हो । तर गुथि वर्गिकरणबाट स्पष्ट हुन आउँछ कि शासकहरुको सोच अर्कै थियो । उनीहरु गुथिको जग्गाको पहिलो हकदार आफु अर्थात राज्य रहेको र आफ्नो अर्थात राज्यको अह्रनखटनमा गुथियारलाइ बाँडेको आयस्ताबाट गुथिको काम कर्तव्य पुरा भइहाल्छ भन्ने सोच्दथे ।

राणाशासन छँदा राणाहरुले भवन-बगैचा आदि निर्माणको निमित्त जग्गा खोसेका थिए । थोरै रकम दिएर जबरजस्ति लिनु पनि खोस्नु नै हो । तर उनीहरुले गुथिजग्गामा आँखा त्यति लगाएनन । रैथाने नेवारका निजिजग्गाहरु खोसेर नै सिंहदरबार, थापाथली दरबार लगायत सबै दरबारहरु बनेका थिए । तर राणाशासन ढलेपछिका शाहराजाकालका सरकारले निर्माण गर्न चाहेको संरचनाको लागि भने धमाधम राजगुथिका जग्गा प्रयोग गर्न थाल्यो ।

एकातिर राजगुथिको जग्गाको आयस्ता सरकारलाइ सिधै बुझाउनु पर्ने खालको नियम, र अर्कोतिर राजगुथिको जग्गा सिधै सरकारको स्वामित्त्वमा रहेको जस्तो हुन थाल्यो । तैपनि नेवारका स्वामित्त्वमा रहेको आधाभन्दा बढी जग्गा गुथिमातहत नै रहेको र ती सबैलाइ राजगुथिमा परिणत गर्न एकैपल्ट गाहारो परेर थप वर्गिकरणहरु अस्तित्त्वमा ल्याइयो । गुथिसंस्थान तथा नियमावली त्यसै सिलसिलाको उपज हो ।

गुथि जग्गा ब्यवस्थापन गर्न बनाएको बिभागले गुथिको जग्गाबाट मालपोत उठाउन गुथिजग्गा वर्गिकरण गर्यो । जुन यसप्रकार छन् ।

गुथि खान्कि जग्गा - आम्दानीहरु गुथि आफैले राख्ने

गुथि रैतानी जग्गा - मोही किसान तथा त:सिं दुबैबाट कर उठाउने, उठाएको कर गुथिसंस्थान आफै राख्ने, शासकलाइ बुझाउन नपर्ने

गुथि अधिनस्थ जग्गा - मोहीले त:सिंभाग सिधै गुथिसंस्थानलाइ बुझाउने र गुथिसंस्थानले शासकलाइ कर बुझाउने

गुथि तैनाथी जग्गा - जग्गाको मालिक गुथिसंस्थान आफै हुने, र कर संस्थान आफैले शासकलाइ बुझाउनु पर्ने

गुथि नम्बरी जग्गा - जग्गा गुथिकै अधिनस्थ हुने, तर गुथिसंस्थानले सरकारलाइ कर बुझाउने

यी बर्गीकरणहरु जटिल बनाइएका छन् र यिनको उद्देश्य बिस्तारै जग्गाको कमाइ गुथिको उद्देश्यप्रति भन्दा सरकारको राज्यकोषमा कसरी पुराउने भन्ने छ । पहिला गुथिमा जग्गा राखेपछि गुथिजग्गा कमाउनेले शासकलाइ अथवा सरकारलाइ कर तिर्नु नपर्ने सुविधा थियो । गुथिको नियमानुसार त:सिंभाग छुटाएर गुथिलाइ बुझाए पुग्थ्यो । तर गुथि जग्गा ब्यवस्थापन गर्ने निकायले वर्गिकरण थालेपछि त्यो चलन हट्यो । गुथि जग्गाको पनि छुट्टै मालपोत र शासकिय कर उठाउन थालियो । जग्गा कमाउने मोहीले त:सिंलाइ तिर्ने हुनाले मालपोत तिर्ने जिम्मेवारी कतै त:सिंको कतै मोहिको हुन थाल्यो । गुथि वर्गीकरण अनुसार विविध प्रकारको कर अथवा मालपोत उठाउन थालेपछि गुथि जग्गाको मालपोत तिर्ने गुथियार, मालपोत नतिर्ने गुथियार, मालपोत तिर्ने मोही, मालपोत नतिर्ने मोही आदि बीच गुथि जग्गा बारे फरक फरक बुझाइ विकास हुन थाल्यो । र साथसाथै गुथियार त:सिं मोहि सबै आ-आफ्नो गच्छेअनुसार कम कर तिर्ने, तथा बढी स्वामित्त्व हासिल गर्ने चलाखी गर्न थाले । कर तिरेको निस्सा नभए मोहि हक गुम्ने, मोहिकै मनोमानीमा सबै छाडिदिए त:सिहक नै गुम्ने जस्ता शंकाउपशंका र खेलखालको असहज वातावरण विकास हुँदै गएपछि सबैले गुथिजग्गाको रुपमा रहेका आफ्नो सम्पत्ति रक्षा गर्ने उपायहरु तिर सोच्न थाले ।

गुथिजग्गा समस्याको उत्कर्ष:

गुथि संस्थान स्थापित भएपछि यसले जग्गा कमाउने र आयस्ता बुझाउने (मोहियानी भाग, कर, त:सिंभाग) मा मात्र सिमित नरहि जग्गाको स्वामित्त्व पनि परिभाषित तथा परिवर्तित गर्न सकिने ब्यवस्था ल्यायो । यस लगत्तै नापीको काम शुरु गरीयो । नापीको उद्देश्य नराम्रो थिएन, यसले भुमि ब्यवस्थापनको आधारशिला खडा गर्यो । तर नापीमा संलग्न कर्मचारीहरुको बदमासी हो वा लापरवाही हो, यदि जग्गाधनी को हो भन्ने तत्काल नखुट्टिने अवस्था आएमा 'गुथिको जग्गा' भनेर लिखतमा चढाउने गर्दिए । कतिपय मिसिलहरुमा जग्गाधनी महल नै खाली गरी कैफियतमा मात्रै 'गुथिको जग्गा' लेखिएको पाइन्छ । ती जग्गा वास्तवमा नै गुथिको जग्गा हो वा निजि जग्गा हो वा कसैको प्रभावमा परी सोझासाझा किसानहरुलाइ दुख दिने नियतले 'गुथिको जग्गा' लेखिएको हो स्पष्ट छिनोफानो गर्न गाहारो छ।

'गुथिको जग्गा'को नापी हुन थालेपछि जग्गाको किनबेच गर्ने बाटो सजिलो भयो । शुरुवातीकालमा गुथिको जग्गा बेच्न हुँदैन भन्ने मान्यता बलियो हुँदा बढी मुल्य आउने ठाउँको गुथिजग्गा बेच्नको लागि कम मुल्य पर्ने टार, खोलाकिनार आदिको जग्गा गुथिलाइ सट्टाभर्ना दिने र महँगो जग्गा बेचेर गुथियार, मोहि तथा लेखनदास कर्मचारीहरुले बाँडिचुँडी फाइदा खान थाले । यसो गर्न नमान्ने गुथियार वा मोहि भएमा जायज नाजायज दबाव दिने, लोभ दिने र हुँदा हुँदा कतिपय अवस्थामा गुथियार वा मोहिलाइ थाहा नै नदिइ भ्रष्ट तरीकाले किनबेच गरीदिने सम्मको विकृतिहरु फैलिन

थाल्यो । गुथिसंस्थान ऐनले गुथिको जग्गा ब्यवस्थित गर्ने नाउँमा गुथि जग्गालाइ सामुहिक स्वामित्त्वको जग्गाको रुपमा लियो । यसो गर्दा गुथिको जग्गा मोहिभाग र त:सिंभागको रुपमा छुट्याउन थालियो । बास्तवमा यो गलत बुझाइ नै आजको समस्याको स्रोत हो । मोहिभाग र त:सिंभाग गुथिको जग्गामा थिएन, त्यो त मात्र गुथिजग्गाको बाट उब्जिने अन्नबालीमा थियो । गुथिको जग्गा त अचल सम्पत्तिको रुपमा गुथिकै स्वामित्त्वमा रहनु पर्ने, र त्यसबाट उत्पादन हुने अन्न अनाज र बालीमात्र मोही र त:सिंले सम्झौता अनुसार उपभोग गर्नुपर्ने थियो । गुथिमा राखेको अक्षयस्रोत अर्थात क्षयनहुने स्रोत जग्गाको त्यो मुलमर्मलाइ बिकृत पारेर मोहीभाग र त:सिंभागको रुपमा गुथिको जग्गा नै वँटवारा हुने परिभाषा गुथि संस्थान ऐन २०२१ ले दियो । जसअनुसार सरकारलाइ तिर्ने वार्षिक तिरोको दशगुणा गुथिसंस्थानलाइ एकमुष्ठ तिरेमा गुथि जग्गा रैकर जग्गा मा परिणत गर्न सकिने, र त्यसपछि मोहीभाग आधि, त:सिभाग आधि छुटाएर, अनि त:सिंभागको रुपमा आएको जग्गा फेरी गुथियारहरुले अंशवण्डा गरेर निजि रैकर जग्गाको रुपमा राख्न पाइने अवस्था आयो । यसो गरेबापत यदि गुथिको परम्परा नचल्ने अवस्था भए त्यसको लागि गुथिसंस्थानले आर्थिक सहायता समेत दिने लोभ देखाए ।

सुनेअनुसार, त्यो बेला एक आना जग्गाको मालपोत ४ मो.रु. थियो । त्यसअनुसार १ रोपनी जग्गाको ४० मो.रु. मालपोत तिरेपछि गुथिजग्गा रैकर हुने भयो । यदि १० रोपनी जग्गा छ भने ४०० मो.रु. बुझाउने । त्यो जग्गा मोहीलाइ आधी, त:सिंलाइ आधि, अर्थात किसानले ५ रोपनी पाउने भयो । त:सिं गुथिमा यदि १६ जना गुथियार भए हरेकको भागमा ५ - ५ आना जग्गा रैकर स्वामित्त्व हुने भयो । रैकर स्वामित्त्व कायम भएपछि बेचबिखन गरेर पैसा कुम्लयाउन पाइने भयो । ल हेर्नुस त, आफुले कहिल्यै पाइला नटेक्ने जमीन हुनाले गुथियारहरुले ५ आना जग्गा सित्तैमा आएको भन्ठाने । बर्षैपिच्छे बाली बुझाउनु पर्ने जग्गा आधा आफ्नै स्वामित्त्व हुने भएकोले मोही किसानले गुथियारलाइ फकाएर घुसख्वाएर अनेक जुक्ति लगाएर रैकर बनाउन उद्यत भए । यता गुथियारहरु पनि परम्परा धान्न धेरै वर्षमा एकपटक ब्ययभार पर्ने र त्यो पनि गुथि संस्थानले मदत गरीहाल्छ भनेर मख्ख परे ।

यसरी अन्नबाली उब्जाएर आम्दानी बँटवारा गरेर चल्नुपर्ने गुथि व्यवस्थामा जग्गा नै मोहि र त:सिंको निजी सम्पत्ति बनाउने जस्तो घातक प्रहार गरीयो । मोहियानी भाग र त:सिं भागलाइ सम्पत्तिमाथिको अधिकारको रुपमा परिभाषित गरी ब्रेनवाश गर्न थालियो ।

यस्तो नियमलाइ सैद्धान्तिक आवरण पनि दिइयो - जमीनमाथि द्वैध स्वामित्त्व हटाउने भनियो । जमीन कसको जोत्नेको भन्ने नारा दिइ मोहियानी भाग लिइ जग्गा कमाइरहेको किसानलाइ 'पसिना बगाउने तिमीहरु, बाली खाने उनीहरु, तिमीहरु शोषित, उनीहरु शोषक हुन' भनी बिद्रोहको निमित्त उक्साउन थालियो । गुथि जग्गाका गुथियारहरु सामन्ती व्यवस्थाको पक्षपोषक भनेर प्रहार गरीयो । शोषक वर्ग भनियो । किसानले जोत्ने जग्गा किसानको बाहेक अरुको कसरी हुन्छ? जस्ता बच्काना प्रचार गरीयो । शिक्षा दिक्षामा पछि परेका किसान समुदाय यस्ता राजनैतिक ललिपपमा साथ दिए मोहियानी भाग दिएर कमाउँदै आएको जग्गामा आफ्नो हक कायम गर्न पाइने उत्साह छायो । गुथि संस्थानले बाटो खोलिदिएपछि किसानहरुको स्वामित्त्वमा जग्गा छेलोखेलो जस्तै भयो । स-सानो कामको लागि पनि जग्गा बेच्ने विकृति बढेर गयो ।

गुथिको जग्गामा गुथियार तथा मोहिकिसानको स्वामित्त्व कायम गर्नु भनेको एक हिसाबले भन्ने हो भने यसरी दाँज्न सकिन्छ - मानौं तपाइसित एक ठूलो घर छ, यो घरको भाडा उठाएर त्यो आम्दानीबाट तपाइले एउटा समाजकल्याण काम, जस्तै गरीबको बच्चाको पढाइ खर्च गरिदिने जस्तो, गर्ने ब्यवस्था गर्नु भयो । त्यो भाडा उठाउने तथा मर्मत सम्भार गर्ने कामको लागि रामलाल लाइ जिम्मा दिनुभयो, अनि रामलालले घरको कोठाहरु निश्चित रकम तिर्ने सम्झौतामा श्यामलाललाइ प्रयोग गर्न दियो । अब गुथि संस्थान आयो, उसले रामलाल श्यामलाल दुवैलाइ भन्यो कि घरबहाल कर तिर । अनि गुथि संस्थानले भन्यो कि, दश वर्षको कर एकमुष्ठ तिर्ने भए यो घर आधा श्यामलालको हुन्छ, आधा रामलालको हुन्छ । र यसरी घरको वँटवारा गरीदिएपछि त्यो घरबाट गरीरहेको समाजक्याण काम कसरी संभव हुन्छ? गुथियार रामलाल र मोहि श्यामलाल दुवैको स्वामित्त्व होइन त्यो घर, उनीहरु निश्चित कर्तव्य र दायित्त्व पुरा गर्न त्यो घरसित जोडिएका मानिसहरु पो हुन त ।

तर गुथिको काम कर्तव्य र दायित्त्व बारे यस्तो कुराहरु विश्लेषणमा ल्याइएन । काँग्रेस कम्यूनिस्ट पञ्चायतसमर्थक लगायत राजनीतिक समुहहरुले गरेका किसान अभियान र आन्दोलनहरु वास्तवमा किसानलाइ किसानी पेशाबाट उन्नत जिविकोपार्जन कसरी गर्ने भन्नेतिर कहिले पनि केन्द्रीत भएन । ती सबै अभियान आन्दोलनहरु भुमिमाथि किसानको स्वामित्त्व कसरी कायम गर्ने र विक्रि गर्न सजिलो बनाउने तर्फ केन्द्रीत भयो । गुथि ऐन बनाएर स्वामित्त्व नै स्थापित नहुनुपर्ने मोही भाग अधिकारलाइ स्वामित्त्व कै रुपमा कसरी सजिलै स्थापित गर्ने तर्फ मात्रै केन्द्रीत भयो । मोहिभाग मार्फत धानीरहेको परम्परा र गुथिका कर्तव्य दायित्त्वहरु कसरी संवर्धन गर्ने भन्ने तर्फ कुनै पनि किसान आन्दोलनले सोचेको पनि छैन । यो छलछामपूर्ण राजनीतिले गुथिको भू-स्वामित्त्व नष्ट गरेर मोहीको हातमा पुराउने, र त्यसपछि मोहीको हातबाट जग्गा फुत्काउने कुत्सित मनसाय शुरुवात देखि नै रहेको तथ्य अहिले स्पष्ट प्रमाणित भइसकेको छ । आज गुथिसंस्थानको पहिला देखिका सबै दस्तावेजहरु पल्टाएर हेरे थाहा हुन्छ - ८०% भन्दा बढि जग्गा जुन रैतानी हक कायम गरेको छ, त्यो बेचेर खाएको छ । जब कि गुथिको जग्गा न मोहिको थियो, न गुथियार को नै थियो ।

मोहि किसानको स्वामित्त्व दाबि हुन थालेपछि चलाख गुथियारहरुले सोझासिधा मोहि किसानलाइ मोहिहक बेदखल गरिदिन थाले, भने चलाख मोहि किसानहरुले जतिसक्यो छिटो आफ्नो रैतानी कायम गरीलिए । मोहि र त:सिं हरु विच लुछाचुँडि चल्न थाल्यो । यस्ता बदमासीका कारण हजारौं मुद्दाहरु पर्न थाले । वकिलहरुको रोजगारी बढ्यो । समाजमा धर्म, परोपकार र समाजकल्याणको भावना मर्दै गयो । जग्गाको हक कायम गरिलिने, बेचेर खाने प्रक्रिया पेशाको रुपमै विकास भयो । भू-माफियाको संगठित प्रयास चल्न थाल्यो । मालपोतको लगतमा २०२१ को नापीमा अस्पष्ट भएका जग्गाहरु खोतलखातल गरी नक्कली मोहि वा जग्गा धनी खडा गरी गुथिजग्गा हडप्ने क्रम तिब्र भएर गयो । देशको न्यायपालिका, मालपोत तथा गुथिसंस्थानका सबै दस्तावेजहरु पुनमुल्यांकन गरी हेर्ने हो भने त्यो सबै बदमासीहरु उदाङ्गिने अवस्था छ ।

गुथि र समृद्धि :

गुथि मुलत: आम्दानी गर्ने बाटो होइन, खर्च गर्ने बाटो हो । यसका गतिविधिहरुले नेवार समाजलाइ खर्चिलो, भड्किलो जीवन जिउन सिकाउँछ । वचत गर्न सिकाउँदैन । यस अर्थमा भन्दाखेरी गुथि अचेल प्रचलित बचत-सहकारीको सिद्धान्त बिपरीत कार्य गर्ने संस्था हो । अचेल समाजमा समृद्धिको निमित्त बचत गर्नु पर्छ भन्ने सोचाइ छ, जुन गलत छ । गुथि परम्पराले भने खर्च र उपभोग गर्न हौस्याउँछ । आधुनिक अर्थशास्त्रीय मान्यताले बढी क्यासफ्लो भए बढी रिभेन्यू जेनेरेट हुन्छ र बढी रिभेन्यू जेनेरेट भए समृद्धि हासिल हुन्छ भन्छ । गुथिले भने बढी उपभोग गराउँछ, पहिलाको समाजको बिदेशबाट आयात हुने सामान थोरै थियो, जति पनि उपभोग हुन्छ, त्यसलाइ स्थानिय उत्पादनले थेग्नु पर्ने हुन्छ । स्थानिय उत्पादन बढाउन गुथि बाध्यकारी प्रेरणास्रोत बनिदियो र त्यसैको नतिजास्वरुप नेवार समाजले समृद्धि हासिल गर्यो । अर्थात त्यो समृद्धिको मोडलमा बढि उपभोगको डिमान्डले बढी प्रोडक्ट गराउने, बढी प्रोडक्ट गर्ने क्षमताका कारण समृद्धिको बाटो समात्यो । आधुनिक अर्थशास्त्रको क्यासफ्लो पुरातन समयमा उपभोग्य सरसामान नै त थियो । त्यस हिसाबले गुथि वास्तवका आधुनिक अर्थशास्त्रिय सिद्धान्त विकास हुनु हजारौ वर्ष अगाडिको अब्बल आधुनिक अर्थशास्त्र नै मान्न सकिन्छ । आजका दिनमा पनि देख्न सकिन्छ, गुथिजग्गा जसै जसै मास्सिदै गयो, नेवार समाजको समृद्धि पनि त्यसै त्यसै ओरालो लागेकै छ । यी कुराहरु थाहा नहुँदा नबुझ्दा तथा आयातित बैदेशिक सिद्धान्तहरुले अन्धो बनाइदिंदा हामी आफैसित रहेको गुथि जस्तो समृद्धिको चाविलाइ पनि सामन्ति अवशेष भनेर गाली गरीरहेको देख्न पाउँछौ । गुथिलाइ समयसापेक्ष सुधार र परिष्कृत गर्नु भन्दा यसलाइ जसरी हुन्छ ध्वस्त पार्नेतिर लागेकाहरु भविष्यमा अवश्य मा पछुताउने नै छन् । तर त्यतिबेलासम्म तिनीहरुले गुथि ब्यवस्था फेरी फर्काउन कदापि सक्ने छैनन । यसैले गुथिलाइ नाश हुनु अगाडि नै जोगाउनु नै हाम्रो तथा भविष्यको पुस्ताको लागि लाभदायक हुनेछ ।

कुरा बुझौं मुसुमुसु हाँसौ ।


No comments:

Post a Comment