Sunday, February 9, 2014

सुगौली सन्धि र नेपाली राष्ट्रवाद

सुगौली सन्धि र नेपाली राष्ट्रवाद
 
प्रा.डा.गोपाल शिवाकोटी 

 नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको समयमा नेपालले यसलाई उत्सवको रूपमा दुई वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाउन थालेको भन्ने कुराले सबै नेपालीको मनलाई नै हँुडलेको हुनपर्दछ । सन् २०१६ को मार्च ४ मा बेलायतसँगको दौत्य सम्बन्धको दुई सय वर्ष पुग्ने दिनलाई वर्षगाँठको रूपमा मनाउन लण्डनमा पुस २४ गते विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

यस कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र सचिव अर्जुनबहादुर थापा र बेलायतका तर्फबाट नेपाल मामला हेर्ने सर जोन स्ट्यान्ली, दक्षिण एसिया तथा एसिया मामिला हेर्ने मन्त्री ह्युगो स्वारले संयुक्त रूपमा रिबन काटेर विशेष कार्यक्रम सहित दुई वर्षसम्म उत्सव मनाउन कार्यक्रमहरू सुरु गरेका हुन् । बेलायतले सेप्टेम्बरमा दर्जनौं सभासद् तथा नेपालका विशिष्ट व्यक्तिहरू समेत गरी विशेष कार्यक्रम मनाउने घोषणा गरेको छ ।


समारोहमा सचिव थापाले नेपाल बेलायतसँग यस क्षेत्रको सबैभन्दा पहिलो कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको रूपमा रहेकाले गौरव गर्नुको साथै दुई देशबीचको सम्बन्ध, आपसी विश्वास, सद्भावना र सहकार्यमा आधारित भएको भनी यो दिवसलाई विशेष दिवसको रूपमा प्रस्तुत गर्ने काम गरेको समाचारले समेत अचम्भित तुल्याएको छ । कार्यक्रमको सुरुको दिनमा नै त्यहाँको मन्त्री डंकनले नेपाललाई सबैभन्दा बढी दिन सक्ने राष्ट्र भएको घोषणा गरी बेलायतको नेपालमा ठुलो कृपा रहेको भनि बडापन समेत प्रदर्शन गर्ने काम गदै नेपालीलाई भिखारीको रूपमा प्रस्तुत गर्न पछि परेका थिएनन् ।

तर हाम्रा पदाधिकारीको ठुलाले लात्ती हाने पनि प्रसादको रूपमा ग्रहण गर्ने दास मानसिकताले बेलायतीहरूको अहंकारलाई पनि नेपालको लागी प्रसादकै रूपमा लिएको देखिएकाले नेपालको यो कस्तो राष्ट्रवाद भन्ने प्रश्नसमेत गर्नुपर्ने भएको छ । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको इतिहास भनेको औपनिवेशिक मालिक र दासबीचको सम्बन्धको इतिहास हो । मालिक बनेर घोडा चढेको र दास बनेर मालिकको पछिपछि लागेको इतिहास हो ।

साम्राज्यको शोषण र शासन गरिएको र शासित भएको इतिहास हो । आफ्नो अस्तित्व गुमाएको र पराईलाई स्वामी भनी रिझाएर उनिहरूको सेवामा मुलुकलाई अर्पण गराएको इतिहास हो । बेलायतको अगाडि घुँडा टेकेर आत्मसमर्पण गरेको मुलुकको एक चौथाई भुमि बेलायतीे मालिकको चरणमा सुम्पेर आफ्नो राष्ट्रिय स्वाधिनता गुमाएको इतिहास हो । यसलाई कसैले मित्रताको इतिहास ठान्छ र यसलाई नै कुटनीतिक इतिहास मानी गौरव गर्दछ भने यो दास मानसिकताको दुर्गन्धभन्दा बढी केहि हुन सक्तैन ।

यसैले बेलायतसँग १८१६ मा भएको सुगौली सन्धिबाट स्थापित सम्बन्धलाई उच्चस्थानमा राखी यसको वर्षगाँठ मनाउनु, उत्सव मनाउनु भनेको नेपालीहरूलाई तिमीहरू दास थियौ भनी अपमानित गर्नु, नेपालको राष्ट्रवादलाई नै अपमानित गर्नुको रूपमा रहन्छ । नेपालले १८१४÷१५ को युद्धमा हारेपछि मार्च ४, १८१६ मा भारतको सुगौलीमा गई गुरु गजराज मिश्रले अंग्रेज बहादुरका अगाडि घुँडा टेकेर सन्धि गरेपछि सुरु भएको साम्राज्यवादी मालिक र घुँडा टेकेर अपमानपूर्ण ढंगले बेलायतअगाडि आत्मसमर्पण गरेको कालोदिनबाट सुरु भएको कालो कुटनीतिक सम्बन्धको इतिहास थियो ।

अहिले पनि नेपाली जनताले यो अपमानपुर्ण सम्बन्धलाई बिर्सेका छैनन् । यद्यपि अंग्रेजले भारतलाई छोडेर हिडेपछि पनि विरासतका रूपमा १९५० को सन्धिबाट नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित रहँदै आएको छ । साथै १९४७ को गोर्खा भर्ति सम्बन्धी त्रिपक्षीय सन्धि र उनिहरूले गोर्खा सेनाहरूमाथि गरेको भेदभावपुर्ण व्यवहारले २०१३ समेतमा अंग्रेजहरूको औपनिवेशिक अहंकारको शिकार बन्न पुगेकाले यो दुई सय वर्षको नेपाल र बेलायतको सम्बन्धको इतिहास नेपालको इतिहासको लागी कलंकित र दुर्भाग्यपुर्ण रहेको छ ।

यसले नेपाललाई विदेशीको उपनिवेश बनाएर राष्ट्रिय स्वाधिनता समाप्त गरेको थियो । अहिले पनि नेपालमा ठुलो जनसंख्या यहि अंग्रेजसँगको १८१६ को सुगौली सन्धिबाट नेपाल उपनिवेश भएकाले त्यसको खारेजीको माग राखी स्वतन्त्र नेपालको चाहना गरिरहेको अवस्था छ । यो दिनमा नेपालका अधिकारीहरूले बेलायतमा गएर सुगौली सन्धिबाट बडो राम्रो र गौरवशाली काम भएको घटनाको रूपमा प्रस्तुत गर्नुजस्ता कुराले सम्पुर्ण नेपालीको राष्ट्रिय भावनाप्रति स्वयं नेपाली अधिकारीहरू र शासक वर्गवाटै अपमानित काम गर्ने भएको छ ।

इस्ट इण्डिया कम्पनीको रूपमा रहेको बेलायतले भारतको मैसुरमाथिको विजय तथा युरोपमा नै नेपोलियनले युद्ध हारेपछि उत्साहित भएको बेलायतले तिब्बतको व्यापारिक मार्ग खोल्न र अंग्रेजहरूका लागी अनुकुल हिमाली शितल हावापानीको खोजी भएको अवस्थामा नेपालमाथि अनावश्यक सर्त राखेपछि १८१४ मा बेलायतसँग युद्ध भएको थियो । यस अवस्थामा भिमसेन थापा हिमालय क्षेत्रका राष्ट्रहरूलाई मिलाएर हिमाली संघ बनाउने अभियानमा रहेको अवस्थामा भएको यो युद्धमा नेपालले पराजय सहनु परेको थियो । यो युद्धमा चिनियाँहरूको सहयोग नपाएपछि नेपाल पराजित भयो र बेलायतले १८१५ को डिसेम्बरमा असमान सन्धिको मस्यौदा नेपाललाई पठाएको थियो ।

यो सन्धिलाई तीन महिनापछि मार्च ४ मा नेपाल दरबारले अनुमोदन गरेपछि भारतको सुगौलीमा गई घुँडा टेकेर गजराज मिश्र र चन्द्रशेखरले अनुमोदनको पत्र बुझाएपछि हुन पुगेको थियो । यो सन्धिले गर्दा अपमानित भएर बुढा अमरसिंहले गोसाँई कुन्डस्थानमा गएर आत्महत्या समेत गरेका थिए । सुगौली सन्धिले नेपालको पश्चिम कालीदेखि सतलजसम्मको सम्पुर्ण भुभाग तथा पुर्वको दार्जेलिङ्ग लगायतका भुमिहरू घुमेर अंग्रेजलाई सम्पिनु परेको थियो भने गंगा नदिसम्मको समतल भुमि समेत बुझाइएको थियो ।

यो अपमानजनक सन्धिमा घुँडा टेकेपछि गजराज मिश्र र चन्द्रशेखरले भारतमा मौजा पाएर लाभ लिएको भएता पनि यसले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता नै गुम्यो र नेपालले अर्ध–उपनिवेशिक स्थिति भोग्नुप¥यो । नेपालको हैसियत बेलायतको रजौटाको रूपमा रहन पुग्यो भने नेपालमाथि निगरानी गर्न नेपालमा बेलायती रिजेण्टको कार्यालय खोलिएको समेत थियो । यो सन्धिले नेपालले कुनै पनि विदेशीहरूसँग सम्बन्ध राख्न नसक्ने र राखेपनि बेलायतको अनुमति लिनुपर्ने, बेलायतलाई आवश्यक परेको बेलामा सेना लगायत सबै किसिमको सहयोग गर्नुपर्ने, बेलायतबाट मात्र हातहतियार ल्याउन पाउने जस्ता अपमानपुर्ण र नेपाललाई उपनिवेश बनाउने खालको प्रावधान समेटियो । यसको नेपालमा विरोध हुदाँहुदै पनि विभिन्न प्रलोभनमा फसेकाहरूले यो सन्धि गर्न बाध्य तुल्याएका थिए ।

यो सन्धिले गर्दा चीनसँगको सम्झौता पनि निष्क्रिय हुन पुगेको थियो । नेपालका प्रत्येक गतिविधिहरू बेलायतलाई जानकारी दिनु पथ्र्याे र बेलायतका विरुद्धमा कुनै किसिमका गतिविधि गर्न पाइँदैनथ्यो । नेपालमा मन्त्रीहरू र अफिसरहरू नियुक्ति गर्दा समेत यी व्यक्तिहरू बेलायतका विरोधी हुन्, यिनीहरूलाई हटाउनु भनी कलकत्ताले आदेश दिन्थ्यो । अंग्रेजका लागी अनुकुल नभएका अधिकारीहरूको नियुक्ती र बर्खास्ती समेत नेपालले गरिदिनु पर्ने कार्य पनि यहि सुगौली सन्धिबाट भएको हो ।

हुुनत अहिले पनि यही सुगौली सन्धिकै पारामा कतिपय विदेशीले नेपालमा को मन्त्रि बनाउने, कसलाई हटाउने, कसलाई सिडियो बनाउने वा हटाउने, संविधानसभामा के गर्ने भन्ने र राजदूतहरूले गएर विभिन्न ठाउँमा प्रत्यक्ष लगानी गर्ने र निर्देशन दिने जस्ता कार्य गर्ने कुरालाई सहजै स्वीकार गर्ने आदत परेको नेपाली शासक वर्गको लागि नेपाल र बेलायतबीचको सम्बन्धको कडीको रूपमा रहेको सुगौली सन्धिलाई सम्मान गर्नु उनीहरूको प्रभुभक्तिको एउटा नमुना हो । यह िकुरा अहिले दुई सयौं वर्षगाँठको रूपमा उपस्थित भएको मात्र हो ।

औपनिवेशिक दासत्वको संस्कृति निर्माण भएको हाम्रा अधिकारहरूलाई खैरा, गोरा मालिकहरूको दासत्वलाई समेत प्रसादको रूपमा ग्रहण गर्दै आएको आदत गणतान्त्रिक नेपालमा पनि नछुटेको देख्दा भने अनौठो लाग्दछ । सुगौली सन्धिपछि भिमसेन थापा लगायत केही राष्ट्रवादीहरू सकसमा परेका र छटपटाएका थिए । उनिहरूलाई समाप्त गरिएपछि आएका जंगबहादुर गोराहरूको दास बनेर नेपाललाई कजाउन हिचकिचाएनन् । सुगौली सन्धिको सर्तअनुसार अंग्रेजलाई अप्ठेरो परेको अवस्थामा सैनिक सहायता गर्ने व्यवस्थाअनुसार लखनउमा भएको म्युटिनीको समयमा आठ हजार नेपाली सेनाको नेतृत्व गरि स्वयं जंगबहादुर गएका थिए ।
नेपालले रजौटाको रूपमा उपनिवेशिक मालिकलाई अप्ठेरो पर्दा सघाउनु उसको कर्तव्यको रूपमा रहेको देखिन्छ । यसपछि राणा रणोद्दिपले अंग्रेजको साम्राज्य रक्षाको लागी बेलायतले माग गरेअनुसार नेपाली युवाहरूलाई भर्ति गर्नको लागी आएको आज्ञाको पालना गरेका थिए । यसअघि सुगौली सन्धिबाट गुमेका क्षेत्रका सबै सेना २ लाख रुपियाँँ लिएर बेलायती सेनामा मिलाएका थिए । चन्द्रशमसेरले बेलायतको तिब्बतमाथिको योङ हस्बेण्ड अभियानमा बेलायतले माग गरे अनुसार ४ हजार चौरीहरू सैनिक सामग्रीको ढुवानीको लागी पठाएका थिए ।

यस्तो काम बिना मुल्य सेवा उपलब्ध गराउने कर्तव्यअनुसार गरिएको कार्य थियो । यस्तै बेलायतले नेपालमाथि युद्धकर लगाएपछि चन्द्रशमसेरले प्रथम विश्वयुद्धको समयमा १० लाख रुपियाँ नगद करको रूपमा बुझाएका थिए भने ५० हजार नेपालीलाई बेलायती सेनामा पठाउने काम गरेका थिए । यो कार्यलाई जुद्धशमसेरले पनि निरन्तरता दिएका थिए । यसरी नेपाल सुगौली सन्धिबाट बेलायतको अर्ध उपनिवेश बनेदेखि नै बेलायतको आदेशमा नेपालमा कर्मचारी भर्ना गर्ने, नीति निर्माण गर्ने तथा विदेशीहरूलाई प्रवेश दिने वा निकाल्ने, बेलायतलाई चाहिएको समयमा सेनाको सहयोग गर्ने, ढुवानीको व्यवस्था गर्नेजस्ता कार्य गरेर आफुलाई बेलायती उपनिवेशको तहमा राखेको थियो ।

बेलायतको युवराजको विवाहको बेलामा लगाएको दाइजो वापतको कर समेत नेपालले तिरेको थियो । यस्तै युवराज चाल्र्स भारत आउँदा उनलाई खुसी पार्न, सिकार खेल्नका लागी ४ हजार हेक्टर भुमि कञ्चरपुरमा नेपालले १९२९ मा बुझाएको थियो । यसरी नेपाल र बेलायतको तात्कालिन सम्बन्ध कुनै मित्रबीचको सम्बन्ध होइन । यो त उपनिवेशिक मालिक र उपनिवेशिक मुलुकको बीचको सम्बन्ध थियो । यो कुनै समानता र गौरव गर्नुपर्ने सम्बन्ध थिएन ।

अहिले पनि बेलायतले नेपालका राष्ट्रप्रमुखलाई आफ्नो कर्णेलको रूपमा नियुक्ती गरी पुरानै उपनिवेशिक व्यवस्थालाई कायम गरेको देखिएको छ र गोर्खा सेनाहरूमाथि बेलायतमा हुने भेदभावको कारक पनि यसैको विरासतमात्र हो । नेपालको स्वतन्त्रतालाई माया गर्ने,राष्ट्रको गौरवको लागी ज्यान गुमाएका नेपालीहरूको लागी सुगौली सन्धि आजपनि अत्यन्त दर्भाग्यपुर्ण विषय हो । यो समयमा त सुगौली सन्धिका सबै प्रावधानलाई खारेज गर्नुपर्ने र सुगौली सन्धिजस्तो असमान, अपमानपुर्ण र नेपालको अक्षुण्णतालाई समाप्त पार्ने र सार्वभौमिकतालाई संकुचित पार्ने अपमानपुर्ण सन्धि गरेकोमा बेलायती पक्षलाई नेपाली समक्ष क्षमा माग्न लगाउँदामात्र नेपालको गौरव बढ्ने छ ।

यो अपमानपूर्ण सुगौली सन्धि भएको समयलाई उत्सवको रूपमा मनाउने कार्य शासकवर्गबाट भएको छ, त्यसको निन्दा गर्नु सबै राष्ट्रवादी नेपालीको कर्तव्य हो ।

Source : http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/21241-----

No comments:

Post a Comment