Thursday, February 7, 2013

"तिलौराकोट किन ओझेलमा?"

"तिलौराकोट किन ओझेलमा?" 

from http://www.facebook.com/sanshakya

किरणमान बज्राचार्य(कपिलवस्तु)






सरकारले सन् २०११ लाई पर्यटन वर्षको रूपमा मनायो, त्यसको लगत्तै सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा तामझामसहित घोषणा गर्‍यो । तर नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्ष सकिँदासमेत खुला संग्रहालयको रूपमा रहेको कपिलवस्तुमा प्रभावहीन बन्यो। 


तीन बुद्धहरूको क्रीडास्थल कपिलवस्तुलाई ती दुबै भ्रमण वर्षले छुन सकेन । लुम्बिनी भ्रमण वर्षलाई लक्षित गरी यहाँ कुनै ठोस कार्यक्रम नगरिँदा वर्षभरि नै सुनसान रह्यो। लुम्बिनीसँग प्रत्यक्ष सरोकार राख्ने तिलौराकोटसहित सात स्थललाई भ्रमण वर्षले छुन सकेन। भ्रमण वर्षलाई व्यापक बनाउने सरकारले निर्णय गरे पनि लुम्बिनी विकास कोषले लुम्बिनीलाई नै बढी प्राथमिता दिएकोले भ्रमण वर्षको प्रभाव शून्यप्रायः बन्यो। दुई दशकअघि जिल्लाका सात ऐतिहासिक र पर्यटक स्थललाई राजपत्रमा सूचना प्रकाशित गरी दिएको थियो। तर कोषको नजर ती स्थलमा नपर्दा दिनानुदिन सो स्थलहरू उजाड र लथालिङ्ग बनिरहेको छ।

गौतम बुद्ध, कनकमुनी बुद्ध र क्रकुछन्द बुद्धको क्रीडास्थल सहित बुद्धसँग सम्बन्धित सय बढी स्थलहरू सहित यहाँ थुप्रै धार्मिक र पर्यटकीय स्थल रहे पनि कपिलवस्तु सरकारको नजरमा नपर्दा ती स्थलहरू ओझेलमा पर्दै गएका छन्। ती ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, रेखदेख तथा प्रचारप्रसारको जिम्मा पाएको लुम्बिनी विकास कोषले भ्रमण वर्षमा ठोस कार्यक्रम ल्याउन सकेन। जसका कारण ती स्थलहरू उजाड र लथालिङ्ग बन्दै गएका छन्।

भ्रमण वर्षमा कपिलवस्तु प्रवेश गर्दा संसारभरबाट बुद्ध स्थल भ्रमण आएका पर्यटकहरू जति रोमाञ्चित भएर आए उजाड अनि लथालिङ्ग बुद्धसँग सम्बन्धित यहाँका प्राचीन स्थलहरू देख्दा त्यत्तिकै निरास बनेर फर्के। यहाँ रहेका धार्मिक स्थलहरू तिलौराकोट, कुदान, गोटीहवा, निगालीकोट, ७७ हजार शाक्य वंशको वद्य स्थल सगरहवा ताल, धमनिया, सिसहनियालगायतका स्थलहरूमा आउने पर्यटकहरू निरास बनेर फर्कने गरेका छन्। सय बढी धार्मिक एवं प्राचीन स्थलहरू रहेको कपिलवस्तुका अधिकांश स्थल प्रचारप्रसारको अभावमा आझेलमा परेको छ। सरकाटबाट उपेक्षित कपिलवस्तुका स्थलहरू सुनसान र उजाड छन् । त्यति मात्र नभई मानवीय अतिक्रमण बढ्दै जाँदा ती स्थलको अस्तित्व समेत संकटमा पर्दै गएको छ।
सरकारले भ्रमण बर्ष मनाउन कोषमा करिव दुई करोड रूपैयाँ निकासा गरे पनि सो रकम लुम्बिनीमै खर्चिएको छ। सो रकमबाट जिल्लामा ४० थान टिसर्ट मात्र बाँड्ने काम गरियो भन्नुहुन्छ थाईभाट कार्यबाहक अध्यक्ष राजेश ज्ञवाली। भ्रमण वर्षलाई लक्षित गरी जिल्लामा शान्तिको सन्देशका लागि कन्थक यात्रा र गोष्ठी गर्ने कार्यक्रम तय गरिए पनि सो पनि नभएको बताइएको छ।

शान्तिका प्रतीक भगवान गौतम बुद्धको अनमोल २९ वर्ष व्यतीत भएको ठाउँ र उनका बाबु राजा शुद्धोदनको राजप्रासाद प्राचीन कपिलवस्तु (तिलौराकोट) लथालिङ्ग र उजाड देखिन्छ। लुम्बिनी विकास कोषभित्र तिलौराकोटकोट पनि ०५२ सालमा समावेश गरी विकास कार्यलाई एकीकृतरूपमा अघि बढाउने कार्यक्रम बनाएको ढेड दशक भई सक्दा पनि यहाँको विकासका सिन्को भाँचिएको छैन। दिनानुदिन अझ उपेक्षित, जीर्ण र दयनिय बन्दै गइरहेको छ। बस्ने ठाँउ पनि नरहेको त्यहा आउने पर्यटकलाई तिलौराकोटको परिचय दिने पुस्तिकासमेत छैन।

लुम्बिनीदेखि करिब २५ कि.मि पश्चिममा स्थित भगवान् गौतम बुद्धको क्रीडास्थल तिलौराकोट रेखदेख र संरक्षणको अभावमा खण्डहर बन्दै गएको छ यो पवित्र स्थल। २ अर्ब बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धले २९ वर्ष व्यतीत गरेको तिलौराकोट दरवार जीर्ण बन्दै गएको छ। शान्तिका अग्रदुत तथा एशियाका तारा बुद्धका पिता सुद्धोदनको राजप्रसाद यो स्थलमा मुख्य, पूर्वी र पश्चिमी द्धारको भग्नावशेष छन्। संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ, यी ३ भग्नावशेष। २ हजार वर्गफिटमा फैलिएको तिलौराको दरवारमा रहेका प्रवेशद्धार र कोटियामाईको अवस्थासमेत दयनीय छ। तिलौराकोट दरवार क्षेत्र अहिले रुख बिरुवा र झारपातका कारण घना जंगल बन्दै गएको छ।

उता निग्लिहवा गाविसको निगालीकोट समेत उजाड बनेको छ। कनकमुनी बुद्धको जन्मस्थलको रूपमा रहेको निगालीकोटमा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भको अवस्था झनै दयनीय छ। लुम्बिनी र तिलौराकोटलाई प्रमाणित गर्ने यो स्तम्भ पनि हालसम्म कोषको नजरमा पर्न सकेको छैन। स्तम्भको सुरक्षार्थ कोही पनि नराखिँदा केटाकेटीको लागि खेल्ने तथा चौपायाँ चराउने चौर बनेको छ यो स्थल। त्यस्तै क्रकुछन्दको जन्मस्थलको सबुतको रूपमा सम्राट अशोकले बनाएको गोटिहवाको अशोक स्तम्भ पनि बेवारिसे बनेको छ। यो स्थल अहिले पोखरी बनेको छ भने त्यहाँ रहेको अशोक स्तम्भ डुबेको छ। त्यहाँ पुग्नलाई बाटोघाटोको पनि राम्रो सुविधा छैन।

त्यस्तै निग्लिहवा गाविसको सगरहवा अर्थात् लम्बुसागर तालसमेत बेवास्ताका कारण निकै फोहोरी बनेको छ। ७७ हजार शाक्यलाई सामूहिक बध गरिएको यो तालमा झारपात र घाँस उम्रिएकोले घाँसे ताल बनेको छ यो स्थल। भारतीय पुरातत्वविद् पीसी मुखर्जीले सन् १८९९ मा उत्खनन् गर्दा यो स्थलबाट ठूल्ठूला १२ कोठा र १७ वटा स्तूप फेला पारेका थिए। यति महत्वपूर्ण स्थलमा कोषको लापरवाही र बेवास्ताका कारण यस क्षेत्रको जग्गा अतिक्रमण गरिएका छन्। तर अतिक्रमण रोक्न तथा अतिक्रमणकारीलाई हटाउन कहींबाट पहल भने भएको देखिँदैन।
तिलौराकोट पछिको बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थलको रूपमा रहेको निग्रोराधराम कुदान पनि सरकारको उपेक्षाको शिकार बनेको छ। राजा शुद्धोदनले बुद्ध र भिक्षुलाई बस्नको लागि यस ठाँउमा विहार निमार्ण गरेका थिए। प्रजापतिले यसै स्थलमा कायाष बस्त्र प्रदान गरेकी थिइन् र यहींबाट बुद्धको छोरा राहुल भिक्षु बनेका थिए। 

यी सहित सयभन्दा बढी ऐतिहासिक स्थलहरू रहेको कपिलवस्तुलाई सरकारले विभेद गरेको स्थानीयवासीको आरोप छ। देश बिदेशबाट आउने पर्यटकहरू कपिलवस्तुमा यी तीर्थस्थलको दुरावस्था देखेर निराश हुँदै फर्कने गरेका छन् । रेखदेख, संरक्षण, प्रचारप्रसार तथा पथ-प्रदर्शकको अभावले कपिलवस्तुका तीर्थस्थलहरू ओझेलमा परेका छन्। कोषले कपिलवस्तुलाई वास्ता नगरेको स्थानीयवासीको आरोप छ।
सय बढी बुद्धसँग सम्बन्धित तीर्थ स्थल रहेको कपिलवस्तुलाई सरकार तथा कोषले सौतेला व्यवहार गरेकाले यहाँका स्थलहरू विचरा बन्दै गएको स्थानीयस्तरमा गठित कपिलवस्तु विकास समितिका अध्यक्ष रविन्द्र मिश्रा।‘जन्मिएको ठाउँलाई महत्व दिने तर २९ वर्ष बिताएर यहीबाट गृह त्याग गरेका बद्धको महत्वपूर्ण स्थललाई कुनै चासो नदिने?’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘सरकारको चरम लापरबाही र विभेदले गर्दा यहाँको पवित्र स्थलहरूको अस्तित्व संकटमा पर्दै गएको छ।'

प्रशस्त पर्यटकीय संभावना बोकेको कपिलवस्तुमा बुद्ध परिपथ निर्माण नभई यस्को समग्र विकास हुन नसक्ने पर्यटनविद्हरूको भनाइ छ। त्यसका लागि गुरु योजना निर्माण गरी, बाटोघोटो, राम्रा होटहहरू निर्माण हुनुपर्ने उहाँहरूका सुझाव छ। रामग्राम, लुम्बिनी र कपिलवस्तु जोड्ने सडक निर्माण गरी बस संचालन, भौतिक विकास प्रचार प्रचार गरे मात्र जिल्लामा आझेलमा परेका स्थलहरूको समग्र विकास हुने बताइएको छ।
उता लुम्बिनी विकास कोषले समते कपिलवस्तुमा भने जति गर्न नसकेको स्वीकार गरेको छ। भ्रमण वर्ष गर्नुको मुख्य उद्देश्य लुम्बिनी नेपालमा पर्छ भन्ने बिश्वलाई सन्देश दिन गरिएको कोषका सूचना अधिकृत हरिध्वज राईले स्पष्ट पार्नुभयो। विभन्न देशमा बुद्ध जन्मस्थलका बारेमा रहेका भ्रमलाई चिर्नका लागि नै भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ। भ्रमण वर्षमै चीन र नेपालको ९० वटा सीमावर्ती क्षेत्रमा लुम्बिनी सम्बन्धी शीलालेख, एक सय ८ दूरी संकेत, मास्टर प्लान बनाउने कार्य गरिएको बताइएको छ। कपिलवस्तुमा भ्रमण वर्षमा तिलौराकोटको केही क्षेत्रमा उत्खनन् र संरक्षण, कुदानमा तारबार, सातवटा क्षेत्रको नक्सांकन गरिएको कोषले जनाएको छ।

भ्रमण वर्षका लागि नगरपालिका, जिविस र गाविस कसैले पनि कार्यक्रम ल्याएनन्। पर्यटन वर्षका लागि केन्द्रबाट समेत कुनै बजेट आएन, जिल्लामा खासै कार्यक्रम नगरिएको स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले बताउनुभयो। खुला संग्रहालयको रूपमा रहेको कपिलवस्तुमा पर्यटकीय विकास गर्न सके यसले समग्र देशलाई फाईदा पुग्ने छ। वर्षौदेखि सरकारी उदासीनता र लापरवाहीका कारण पछि पर्दै गएको यी स्थलहरूको विकासमा सरकारको आँखा कहिले जाला? त्यो भने हेर्न बाँकी छ।

No comments:

Post a Comment