Wednesday, January 30, 2013

हसिनादेवी श्रेष्ठ मुटुभरि प्रजातन्त्र


हसिनादेवी श्रेष्ठ मुटुभरि प्रजातन्त्र 

विष्णु रिजाल 

हुँदैन बिहान मिरमिरे तारा झरेर नगए 

बन्दैन मुलुक दुई-चार सपुत मरेर नगए । 

प्रख्यात् कवि भूपी शेरचनले लेखेका कविताका यी पङ्क्ति एक सामान्य गृहिणी हसिनादेवी श्रेष्ठलाई थाहा हुने कुरै भएन । काठमाडौँको प्याफलका युवा गङ्गालाल श्रेष्ठसँग वैवाहिक सूत्रमा बाँधिदासम्म पनि उहाँले यस्ता पङ्क्तिहरूको अर्थ बुझ्नुभएको थिएन । प्रारम्भमा उहाँका पनि आमस्वास्नीमानिसका जस्तै सामान्य सपनाहरू थिए- घरधन्दा चलाउने, श्रीमान्को अभिभावकत्वमा सुरक्षित जीवन बिताउने र परम्परा निर्वाह गर्ने । तर, जतिबेला आफ्ना श्रीमान् राणाशाहीको जरो उखेल्न सक्रिय भएको हसिनादेवीले थाहा पाउनुभयो, त्यसपछि भने उहाँको जीवनको धार नै परिवर्तन भयो । औसत चेतनाकी गृहिणीका लागि गङ्गालालको निर्णय विस्मयकारी, आश्चर्यजनक र अलौकिक थियो । जानाजान मृत्युवरणको तयारी हसिनादेवीका लागि गङ्गालालको निर्णय एउटा भयानक सपनाजस्तो थियो । तर, समय नै सबैभन्दा बलवान हुन्छ भनेझैँ सामना गर्नुबाहेक हसिनादेवीसँग कुनै विकल्प रहेन । र, अन्ततः हसिनादेवीले मन-मुटुमा जसलाई सजाएर राख्नुभएको थियो, उहाँलाई राणाहरूले आफ्नो सिकार बनाए । त्यसपछि गङ्गालाल हसिनादेवीका श्रीमान् मात्र होइन, नेपाली आकाशमा सधैँ चम्किरहने ध्रुवताराजस्तै अटल बनेर चम्किरहनुभएको छ । 

राणाहरूले ठानेका थिए- गङ्गालालहरूलाई मारियो भने जनताको स्वतन्त्रताको आवाज सधैँका लागि मर्नेछ, ज्यानको आशमा जनता पुच्छर लुकाएर दुलाभित्र पस्नेछन् । तर, परिणाम उनीहरूले सोचेजस्तो कसरी हुन्थ्यो र ? गङ्गालालहरूले बगाएको रगतबाट रक्तबीजहरू जन्मे र उहाँको सहादतको १० वर्ष नपुग्दै राणाशासनले सधैँका लागि मृत्युवरण गर्नुपर्‍यो । एउटा कालो अध्यायको अन्त्यका लागि गङ्गालालजस्ता सपुतहरूले बलिदानी नदिएको भए आज हामी स्वतन्त्रतापूर्वक शिर ठाडो पारेर नागरिक हुनुको गौरवबोध गर्न पाउने थिएनौँ । 

आˆनो मुटुभन्दा प्यारो मानिसको माया कसलाई लाग्दैन र ? हसिनादेवीलाई पनि गङ्गालालको असाध्यै माया लाग्थ्यो । अहिले पनि गङ्गालालसँग बिताएका सीमित क्षणहरू सम्भिmनासाथ हसिनादेवीका वृद्ध आँखा रसाइहाल्छन् । "तर पनि मन बुझाएर बाँच्नुपर्‍यो"- उहाँले यस पंक्तिकारसँग भन्नुभएको थियो- "जुन उद्देश्यका साथ उहाँले जीवन बलिदान गर्नुभएको थियो, मेरा आँखावरिपरि त्यही उद्देश्य नाँचिरहन्छ ।" प्रजातन्त्रको जग निर्माण गर्न गङ्गालालले खर्चेको रगतको दुरूपयोग नहोस् भन्ने उहाँको चाहना थियो । सत्ताको सिँढी को चढ्छ, को 

ओर्लिन्छ ? उहाँलाई त्यसको सामान्य जानकारीसम्म पनि थिएन । तर, प्रजातन्त्रका लागि आˆनो श्रीमान्ले रगत बगाएको भने हसिनादेवीले कहिल्यै बिर्सन सक्नुभएन ।

सम्वत् १९८९ सालमा हसिनादेवी १४ वर्षकै कलिलो उमेरमा गङ्गालालकी जीवनसँगिनी बन्नुभएको थियो । उहाँले मुस्किलले आठ वर्ष मात्रै दाम्पत्य जीवन बिताउन पाउनुभयो । १९९७ सालमा गङ्गालाल श्रेष्ठ राणाहरूको हातमा पर्दा उहाँ गर्भवती हुनुहुन्थ्यो । त्यही अवस्थामै आˆनो चेतनाले भ्याएसम्म हसिनादेवीले गङ्गालाललाई छुटाउन सकिन्छ कि भनेर प्रयत्न गर्नुभयो । सुझबुझ, योजना र प्रतिबद्धताका साथ राणाहरूको दासताभन्दा मृत्यु स्वीकार्न तयार भएका महान् योद्धा गङ्गालालको भित्री कुरा उहाँलाई त्यति थाहा नभए पनि राणाहरूलाई मनाउन सकियो भने आˆना श्रीमान्लाई छोडिदिन्छन् कि भन्ने भावना उहाँको मनमा उब्जेको थियो । त्यतिबेलाका सर्वेसर्वा श्री ३ जुद्धशमशेर नागार्जुनमा बसिरहेको अवस्थामा गर्भवती हसिनादेवी हिँडेरै 'बिन्ती' गर्न त्यहाँ पुग्नुभयो । तर, सत्ताको मातले अन्धो भएका जुद्धशमशेरले किन भेट दिन्थे र ? बरू भित्रैबाट उहाँको घोर अपमान गर्दै खबर पठाएछन्- "उमेर छँदैछ, जसले पनि लगिहाल्छ, पोइल जा रे भनिदेऊ ।" त्यसपछि सबै आशा मारेर उहाँ आँशुले बाटो भिजाउँदै फर्किनुभयो । यस्ता क्रूर, अमानवीय र राक्षसी राणाहरूको शासन साँच्चै ठीक रहेनछ भन्ने भावना हसिनादेवीको मनमा पनि पर्‍यो । त्यसपछि उहाँलाई गङ्गालाल झन् महान् लाग्न थाल्नुभयो । 

उता गङ्गालाललाई राणाहरूको कठोरभन्दा कठोर यातनाले पनि गलाउन सक्ने कुरै थिएन । गङ्गालाललाई दिएको यातना र उहाँको प्रतिरोधबारे महिला नेतृ मङ्गलादेवी सिंहले यसरी उल्लेख गर्नुभएको छ- "दिनहुँ बाँसमा झुन्ड्याएर कोर्रा लगाउने र साविती बयान गराउने कोसिस गरियो । पिटाइको असैह्य पीडापछि गङ्गालाल भन्नुहुनथ्यो रे- 'भो अब नपिट, सबै कुरा भन्छु ।' त्यसपछि पुलिसहरू बाँधेको डोरी खोलिदिन्थे । उहाँ 'पानी खाएर मात्र भन्नसक्छु' भन्नुहुन्थ्यो, पानी मगाइन्थ्यो । त्यो पुस-माघको जाडोमा उहाँ एक करूवा पानी पिइसक्नुहुन्थ्यो । त्यसपछि जवाफ दिनुहुन्थ्यो- 'मलाई केही पनि थाहा छैन ।' एवम् प्रकारले लगाएका लुगाहरू पूरै लत्पतिन्थे । तर पनि, उहाँ सावित हुनुभएन, माफी माग्नुभएन ।" बाहिर आउने यस्ता खबरले हसिनादेवीलाई खपिसक्नु हँुदैनथ्यो । तर, सामना गर्नुबाहेक उहाँसँग कुनै विकल्प बाँकी थिएन । 

यस्ता महान् वीरकी जीवनसँगिनी हसिनादेवीले दुई दिनको सुत्केरी हुँदा आफ्ना श्रीमान्लाई राणाहरूले मार्दैछन् रे भन्ने सुन्नुभएको थियो । शारीरिक अशक्ततालाई चुनौती दिँदै उहाँले गङ्गालाललाई भेट्न खोज्नुभयो । हिँडेर जान सक्ने अवस्था नभएपछि उहाँलाई तामदानीमा चढाएर गङ्गालाललाई थुनिएको जेलमा पुर्‍याइयो । तर, अपशोच ् हसिनादेवी त्यहाँ पुग्न ढिलो भइसकेको रहेछ । गङ्गालालहरूलाई जति बढी बाँच्न दियो, त्यति आफ्नो शासन हल्लिएको महसुस गरेका राणाहरूले त्यसअघि नै गोली हानी उहाँको हत्या गरिसकेका थिए । हसिनादेवी विह्वल मन लिएर घर फर्किनुभयो र नेवारी परम्पराअनुसार काजकिरियामा सामेल हुनुभयो ।

हसिनादेवीलाई पछिसम्म याद थियो- गङ्गालाललाई उहाँले अन्तिमपटक देख्दा उहाँको काखमा छोरा रवि थियो । प्रहरी आएर गङ्गालाललाई पक्राउ गर्दा उहाँले हातमा दिएर जानुभएको जेठो छोरा रवि पाँच वर्षभन्दा बढी बाँच्न सकेन । गङ्गालाल दृढ अठोट र प्रतिबद्धताका साथ उहाँहरूबाट जसरी छुट्टनिुभएको थियो, बरू सहादत वरण गर्न तयार हुनुभयो तर आˆनो त्यो विशेषता छोड्न कहिल्यै तयार हुनुभएन । 

आठ वर्षको दाम्पत्य जीवनमा हसिनादेवीले कहिल्यै पनि गङ्गालालको चर्को वचन सुन्नुपरेनछ । अध्ययनमा सधैँ जोड दिने गङ्गालाल हसिनादेवीलाई पनि पढ्नमा प्रेरित गर्नुहुन्थ्यो । त्रि-चन्द्र कलेजमा विज्ञानमा प्रमाणपत्र तहमा अध्ययनरत गङ्गालालको अद्भुत क्षमता र दृढता देखेर हसिनादेवीलाई भित्रभित्रै डर पनि लाग्थ्यो । "तर, मैले कहिल्यै उहाँलाई रोकिनँ"- त्यतिबेलाको स्मरण गर्दै उहाँले भन्नुभएको थियो- "त्यत्तिको आँटी मान्छे मैले अहिलेसम्म देखेकी छैन ।" सायद त्यस्तो आँट, साहस र प्रतिबद्धता नभएको भए गङ्गालालले हाँसीहाँसी मृत्युवरण गर्न पो कहाँ सक्नुहुन्थ्यो होला र ? 

राणाशासनमा 'रैती' लाई प्रजातन्त्रको सपना देख्न मनाही थियो । जसले प्रजातन्त्र र नागरिक अधिकारको सपना देख्थे, उनीहरूले गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीको नियति भोग्नुपथ्र्यो । प्रजातन्त्रबाट राणाहरू त्रस्त र भयभीत थिए । अधिकांश जनताले पनि प्रजातन्त्र भनेको के हो भन्ने बुझेका थिएनन् । यतिसम्म कि सहिदका परिवारलाई सम्मान र आदरका साथ होइन, हेलाँ र घृणाका साथ हेरिन्थ्यो, उनीहरूलाई 'अछूत' व्यवहार गरिन्थ्यो । जताततै भोग्नुपर्ने अपमान, पीडा र वेइज्जतीलाई पनि हसिनादेवीले पिउनुभयो । उहाँको मनमा कुनै पश्चाताप र ग्लानी होइन, क्रमशः गर्व र सन्तोष उब्जिन थाल्यो । ००७ सालमा प्रजातन्त्र स्थापना भएपछि भने उहाँहरूको परिवारलाई सम्मानका दृष्टिले हेर्न थालियो । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले मासिक एक सय रूपियाँ भत्ताको व्यवस्था गरिदिए भने पछि त्यो बढेर मासिक पाँच सयमा पुग्यो । ०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि राजनीतिक पीडितका रूपमा हसिनादेवीले एक लाख रूपियाँ पाउनुभयो । तर, गङ्गालालको सहादत कुनै रूपियाँ-पैसाका लागि होइन भन्ने उहाँलाई राम्ररी थाहा थियो ।

इतिहासमा पीडा, गौरव र सङ्घर्षको त्रिवेणीका रूपमा खडा हुनुभएकी हसिनादेवी आफैँ कुनै राजनीतिक सङ्घर्षमा सहभागी हुनुभएन । तर, सहिदपत्नी हुनुको गौरवले उहाँलाई छोड्ने कुरै भएन । महिलाहरूका थुपै्र कार्यक्रममा पुगेर उहाँले आˆनो तर्फबाट हौसला र प्रेरणा दिने गर्नुभएको थियो । राणाकालीन नेपाली समाजको पीडा खेप्ने जिउँदो इतिहास हसिनादेवीसँग थियो । 

हसिनादेवीलाई आˆनो जन्म कहिले भएको हो भन्ने ठ्याक्कै याद थिएन । तर, महाभूकम्प आउँदा -त्यो १९९० मा हो) आफू १५ वर्षकी भएको र त्यसको एक वर्षअघि गङ्गालालसँग विवाह भएको उहाँलाई सम्झना थियो । यस आधारमा उहाँको जन्म सम्वत् १९७५ मा भएको मान्नुपर्छ । काठमाडौँको बाङ्गेमूढामा जन्मिनुभएकी हसिनादेवी कान्छा छोरा शशि श्रेष्ठका साथ बस्नुहुन्थ्यो ।

व्यक्तिको मूल्याङ्कन आजको विन्दुमा मात्रै उभिएर गर्दा पूर्ण हुन सक्दैन । नेपालको प्रजातान्त्रिक इतिहासलाई आजको अवस्थामा ल्याइपुर्‍याउन थुप्रै योद्धाहरूले प्रत्यक्ष-अप्रत्यक्ष, भौतिक-मानसिक, प्रधान-गौण भूमिका निर्वाह गरेका छन् । श्रीमान्ले प्राप्त गरेको सहादतमा गौरव गरेर मुटुभरि प्रजातन्त्र सजाउने हसिनादेवी अहिलेको पुस्ताका लागि जिउँदो इतिहास र प्रेरणा हुनुहुन्छ ।

हसिनादेवीको २०६७ फागुन २९ गते निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

Source :http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=47584&cat_id=22

No comments:

Post a Comment