Friday, January 25, 2013

व्यक्तित्वको अलग पाटो सहिद शुक्रराज

व्यक्तित्वको अलग पाटो सहिद शुक्रराज

पूर्ण ताम्राकार
 
नेपालको इतिहासमा स्वणर्ाक्षरले लेखिएको नेपालका एक सपुतका नाउँ हो शुक्रराज शास्त्री । नेपाली जनताको मुक्तिको लागि राणा शासनको अन्त्य गर्नमा ज्यानको आहुती दिने व्यक्तित्वको नाउँ हो शुक्रराज शास्त्री । वास्तवमा उहाँको जीवन र व्यत्तित्वको बारेमा रामोसँग अध्ययन गर्दै गयो भने उहाँ सहिद हुनुका मूल कारण राजनीतिक नभइकन उहाँको बौद्धिकता, बौद्धिक क्रियाकलाप र त्यसले समाजमा पारेको अनुकूल प्रभावले गर्दा हो भन्ने थाहा हुन्छ ।

व्यक्तित्व 

शुक्रराज शास्त्रीका बुबा पण्डित माधवराज जोशी हुनुहुन्थ्यो । उहाँ ललितपुरको बखुंबहाल टोलस्थित जोशी परिवारका सदस्य हुनुहुन्थ्यो । शुक्रराज २४ वर्षको उमेरमा भारतको सिकन्दरबादबाट 'शास्त्री' परीक्षा उच्च श्रेणीमा उत्तीर्ण गर्नुभएकोले उहाँलाई भारत सरकारले 'विद्याभूषण' बाट विभुषित गरेको थियो । तत्पश्चात् उहाँलाई सम्मान स्वरूप 'शास्त्रीजी' भनेर सम्बोधन गर्ने गरिएको थियो । त्यसपछि नै शुक्रराजले आˆनो नाउँको पछाडि जोशी नलेखिकन शास्त्री लेख्न थाल्नुभयो । शास्त्री परीक्षामा शुक्रराज शास्त्री उच्च श्रेणीमा उत्तीर्ण भएकोले उहाँलाई श्री ३ चन्द्रशम्शेरले रू. ५००।- इनाम दिएको, इलाहावादमा डि.ए.भि. स्कुलमा हेड पण्डितमा नियुक्ति गरिएको र त्यस पदमा रही अध्यापन गर्दा गर्दै आई.ए., बि.ए उत्तिर्ण गरेकोबाट उहाँको प्रतिभाशाली विद्धताको पुष्टि गर्छ । वि.सं. १९८४ मा 'श्रद्धान्द' पत्रिकामा प्रकाशित नेपालको बारेमा ज्यादै नराम्रो लेखको खण्डन लेखेर शुक्रराज शास्त्रीले 'स्वतन्त्र' पत्रिकामा छाप्नु भयो । यसबाट पनि श्री ३ चन्द्रशम्शेर खुशी भएर शास्त्रीलाई नेपालमा बोलाएर सम्मान गरेका थिए । 'ब्रहृमसूत्र शाङ्कर भाष्य' पुस्तक हिन्दी भाषामा अनुवाद गरेवापत प्रभावित भएर श्री ३ जुद्धशम्शेरले शुक्रराज शास्त्रीलाई रु. १५००।- इनाम दिएको र 'गोरखा भाषा प्रकाशन समिति' को सदस्यमा मनोनित गरी जागिर दिएका थिए ।

शुक्रराज शास्त्रीका नेपालभाषा, नेपाली र हिन्दी भाषामा गरी विविध विषयका ११ वटा कृति प्रकाशित छन् । विद्वत् साहित्यकार भएर पनि नेपाली जनताको मुक्तिका लागि हाँसी हाँसी सहिद हुने व्यक्ति नै शुक्रराज शास्त्री हो ।

जनजागरण अभियानमा अग्रज व्यक्ति 

नेपालमा राणा शासनको अन्त गरी मानव अधिकार प्राप्तिको निम्ति शुक्रराजको सक्रियतामा जनजागरण अभियान सशक्त गर्न काठमाडौँको असनमा रामलाल कलवारको घरमा वि.सं. १९९४ तिर 'नेपाल नागरिक अधिकार समिति' गठन भयो । त्यस समितिमा मुख्य संस्थापक र अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो । यो समिति गठन हुनु एक वर्षअघि नै भूमिगत रूपमा प्रजापरिषद् गठन भएको थियो । यसले जनमानसमा प्रभावित गर्ने किसिमले कुनै क्रियाकलाप गरेको देखिँदैन । 'नेपाल नागरिक अधिकार समिति' गठन भएको केही समयपछि नै प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन गर्ने क्रममा सर्वप्रथम पं. मुरलीधर भट्टराईलाई काठमाडौँको असन, भोटाहिटीमा गीता प्रवचन गराइयो । त्यसपछि वि.सं. १९९५ मा काठमाडौँको इन्द्रचोकमा ऐतिहासिक आमसभा गरेर नेपालमा सर्वप्रथम नागरिक चेतनाका आहृवान पनि शुक्रराज शास्त्रीले नै गर्नुभयो । त्यसै कारण शुक्रराज शास्त्री जेलमा पर्नुभयो । त्यसको दुई वर्षपछि वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद्ले राणा शासनको विरोधमा पर्चा छर्‍यो । त्यसै विषयमा आरोप लगाएर अन्तमा निरङ्कुश राणा शासनले शुक्रराज शास्त्रीलाई ज्यान सजाय दियो । वास्तवमा शास्त्री प्रजापरिषद्को साधारण सदस्य पनि हुनुहुन्नथ्यो ।

सहिद शुक्रराज शास्त्री राणा शासनबाट नेपाली जनताका मुक्तिका लागि जति आतुर हुनुहुन्थ्यो, मानिसलाई चेतनामय ज्ञान दिए, जागृत गरी राणा शासनको विरोधमा सशक्त आन्दोलन गर्न पनि त्यतिकै चिन्तित हुनुहुन्थ्यो । यो कुरा उहाँद्वारा रचित 'नेपाल भाषा रिडर' -भाग १ र २) पढेमा अझ बढी थाहा हुन्छ । त्यस पुस्तकमा अभिव्यक्ति भावनाहरू आजभन्दा ६ दशकअघिको भए पनि समयसापेक्ष मात्र नभई हामी सबैले ग्रहण गर्नैपर्ने उद्गार भएका छन् । त्यसरी राणा शासनको भण्डाफोर र जनजागरण अभियान गरेर राणा शासनको अन्त गरी परिवर्तन ल्याउनुमा सहिद शुक्रराज शास्त्रीको अहं भूमिका छ ।

देशभक्ति र राष्ट्रवादी 

शुक्रराज शास्त्री मुक्तिकामि मात्र नभई देशभक्त र राष्ट्रवादी शिखर पुरुष पनि हो । वास्तवमा उहाँले अमूल्य जीवन उत्सर्ग गर्नुको मूल कारण राणा शासनको अन्त भएर देश र जनताको प्रगति र उन्नति होस् भन्ने तीव्र आकाङ्क्षा हो । देशभक्ति र मातृभूमिप्रतिको पे्रम भावनाको उच्चता उहाँमा कतिसम्म थियो भन्ने कुरा उहाँद्वारा विभिन्न कृतिमा अभिव्यक्त भावनाले स्पष्ट गर्छ ।

यस्तै नेपालमा सर्वप्रथम शुक्रराज शास्त्रीले 'जय नेपाल' शब्द उद्घोष गरेबाट पनि उहाँमा भएको सच्चा राष्ट्रवाद झझल्को दिन्छ । उहाँले 'जय नेपाल' शब्द इन्द्रचोकको आमसभामा सर्वप्रथम उद्घोष गर्नुभएको थियो । त्यसबेलादेखि आजसम्म पनि नेपालमा देशभक्ति र राष्ट्रवादको प्रतिकको रूपमा राजनेता र सवसाधारणले 'जय नेपाल' शब्द उद्घोष गर्दै आएका छन् बहुभाषका साहित्यकारः

शुक्रराज शास्त्री मूलतः राजनीतिक मात्र नभई सुप्रसिद्ध साहित्यकार पनि हुन् । उहाँको नेपाली भाषामा ५ वटा, नेपाल भाषा र हिन्दी भाषामा ३/३ वटा मौलिक र अनुदितसमेत गरी ११ वटा ग्रन्थ प्रकाशित छन् । त्यसमध्ये नेपाल भाषामा 'नेपाल भाषा रिडर', 'नेपाल भाषा व्याकरण' र नेपाली भाषामा 'स्वर्गको दरबार' पुस्तक उहाँको ज्यादै प्रसिद्ध कृति हो । यसका साथै उहाँ एक सशक्त अनुवादक पनि हो भन्ने कुरा उहाँले अनुवाद गर्नुभएको 'ब्रम्हसूत्र शङ्करभाष्य' जनमानसमा ज्यादै लोकपि्रय भएकोले राणा सरकारले जफत गरेर जलाइदिएको थियो । यो कुरा डा. सूर्यनाथ गोपले 'नेपाल मे हिन्दी और हिन्दी साहित्य' भन्ने पुस्तकमा उल्लिखित 'यह पुस्तक -ब्रहृमसूत्र शाङ्करभाष्यले) नेपालमे इतनि लोकपि्रय हुई कि बहुत से लोग इसकि एकप्रति के लिए जिसका मूल्य मात्र चार रुपये है, आज ढाइ सौ, तीन सो रुपयाँ तक देनेको तयार है' भन्ने उल्लेख गरेबाट स्पष्ट हुन्छ ।

नेपालभाषा साहित्यको पुनर्जागरणकालको भाषामहारथि 

शुक्रराज शास्त्रीले राणा शासनको कारणले प्रवासमा रही जीवन बिताउनु परे पनि नेपाल भाषा साहित्यको उत्थानका लागि ठूलो योगदान गर्नुभएको छ । उहाँले कलम चलाउनु भएका समय अवधिलाई नेपालभाषा साहित्यको पुनर्जागरण कालको रूपमा लिइन्छ । शुक्रराज शास्त्रीले नेपालभाषामा सर्वप्रथम बालसाहित्यको रूपमा 'नेपाली वर्णमाला' र 'नेपाल भाषा रिडर -भाग १ र २) रचना गरी वि.सं. १९५३ मा प्रकाशित गर्नुभयो । मातृभाषाको माध्यमबाट बाल बालिकालाई शिक्षा दिएर उनीहरूलाई बालकदेखि आदर्श सच्चरित्र, राष्ट्रवादी, देशभक्त र मातृभाषा पे्रमको शिक्षा र सन्देश दिने उद्देश्यले नै यी पुस्तकको रचना गरेको देखिन्छ । नेपाल भाषाको उन्नति गर्ने उद्देश्यले शुक्रराज शास्त्रीद्वारा रचित नेपाल सम्वत् १०४८ तद्नुसार वि.सं. १९८५ मा प्रकाशित कृति 'नेपाल भाषा व्याकरण' हो । यस पुस्तकमा उल्लिखित शब्द, छन्द, क्रियाको स्वरूप र वाक्य विचारको आधारमा भन्ने हो भने शुक्रराज शास्त्री भाषाशास्त्रको पूर्ण ज्ञान भएका भाषाविद् र भाषाविज्ञ पनि हो । यसरी नेपालभाषामा 'नेपाल भाषा व्याकरण' रचेर प्रकाशित गर्ने सबैभन्दा पहिलो व्याकरणकार शुक्रराज शास्त्री हो । यसबाहेक उहाँले 'छन्द शास्त्र', 'अलङ्कारशास्त्र' र फुटकर कविताहरू पनि रचना गर्नुभएको छ । त्यसबेला नेपालभाषाबाट केही लेख्ने र छाप्ने भनेको पनि राणा शासनको विरोधमा हिँड्नु जस्तो भएर नेपाल भाषा साहित्य जीर्ण - जीर्ण भएको बेलामा विविध विषयमा कृति रचना गरी शुक्रराज शास्त्रीले नेपाल भाषा साहित्यको पुनरुत्थानमा ठूलो योगदान गर्नुभएको छ ।

नारी वर्गको मुक्तिका अग्रज 

शुक्रराज शास्त्रीको समयमा स्त्री शिक्षा दिनु वा महिलालाई कुनै कामको तालिम लिन पठायो भने चरित्रहीन, पथभ्रष्ट हुन्छन् भन्ने धारणाले समाज पीडित थियो । त्यसैले त्यसबेला नारी वर्गलाई चेतना दिई, जागृत गराउने, नारीवर्गले पुरुषसरह स्वतन्त्रता र समानता पाउनुपर्छ भनेर आवाज उठाउनु भनेको सरकार र समाजको दृष्टिमा अपहेलित, अपमानित र घृणित हुनु मात्र थियो । यस्तो अवस्थामा पनि शुक्रराज शास्त्रीले नारीवर्गमा जागृति ल्याउन निडर र निर्भिकताकासाथ आवाज बुलन्द गर्नुभयो । उहाँको विचारअनुसार हाम्रा सन्ततिहरूलाई सुमार्गमा लाने, देशको उन्नति गर्नमा नारीवर्गको निणर्ायक भूमिका हुन्छ । यसका लागि नारीवर्ग शिक्षित र विदुषी हुनुपर्छ । यथार्थमा समाज र देशको निर्माण गर्ने नै नारीवर्ग हो, त्यसैले नारीवर्ग नै घरको मूल ढोका हो, दरबार हो । यसै भावनाले पे्ररित भएर नै उहाँले 'स्वर्गको दरबार' कृति रचना गर्नुभएको देखिन्छ । यस कृतिमा सामाजिक थिचोमिचो र उत्पीडनबाट नारीवर्गको मुक्तिको लागि बालविवाह, वृद्धविवाह र अनमेल विवाह, बहुविवाहजस्ता सामाजिक कुरीतिहरू अन्त्य गर्नुपर्ने धारणा शास्त्रीले अघि सार्नुभएको छ । संक्षेपमा भन्ने हो भने स्वर्गको दरबार भनेको गृहस्थाश्रम हो । गृहस्थाश्रमलाई स्वर्ण बनाउने अहं भूमिका नारी वर्गको हुन्छ भन्ने विषयमा केन्दि्रत कृति नै 'स्वर्गको दरबार' हो । यो कुरा उहाँले व्यक्त गर्नुभएको निम्न उद्गारबाट पनि अझ प्रस्ट हुन्छ -

न घरलाई घर कहिन्छ, नारी नै दरबार हो ।
एकै मात्र धर्म साधन, नारी घरको द्वार हो ।
घरको देवी नारी नै हो, नारी घरका ज्योति हो ।
राजलक्ष्मी नारी नै हो, नारी माणिक मोति हो ।

वास्तवमा शुक्रराज शास्त्री कोरा सिद्धान्तवादी मात्र नभई सच्चा व्यवहारवादी पनि हो । उहाँले बोल्नु भएका र लेख्नु भएका कुरालाई सर्वप्रथम उहाँ आफँै व्यवहारिक भई मार्ग निर्देशित गरी जानुभएको छ । यसबारे उहाँद्वारा रचित 'वीर प्रतिज्ञा' कवितामा व्यक्त उद्गार उल्लेख गर्नु सामयिक देखिन्छ :

जननी जन्मभूमिका लागि
तन, मन, धन अर्पण गर्ने छौं
नश्वर शरीरको माया त्यागी
धर्म युद्धमा मर्नेछौं ।

उहाँले यो कुरालाई व्यवहारमा पनि अघि सार्नु भयो जीवन अर्पण गरेर सहिद हुनुभयो । यही नै शुक्रराज शास्त्रीको देशभक्ति, राष्ट्रभक्ति र मुक्तिकामिका उच्च आदर्श र नैतिकताको द्योतक हो । रुखमा झुण्ड्याएको शुक्रराजको मृत शरीरलाई हेरी उहाँको बाबु पं. माधवराज जोशीले 'तिमीले जे बोल्यौ, कलमले जे लेख्यौ, त्यो कुरा कामबाट पूरा गरेर देखायौ' भन्नु परेको कारण पनि त्यसैले हो । आज देश र जनताका लागि भनेर राजनीति गरिरहेका राजनेता र सत्तासीनहरूले चिन्तन मनन् गर्नु आवश्यक कुरो यही हो । साँच्चै सहिद शुक्रराज शास्त्रीलाई सम्मान गर्ने हो भने सबैभन्दा पहिले उहाँको उच्च आदर्श र नैतिकतालाई ग्रहण गर्नुपर्छ ।

Source :http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=30248&cat_id=22

No comments:

Post a Comment