Wednesday, October 31, 2012

नयराज पन्त स्कुल अफ हिस्ट्री


Naya Raj Panta (1912-2002)

(Naya Raj Panta, often called Nepal’s Socrates for his thoughts and philosophy passed away on November 4, 2002 at the age of 90. 
He was the successor to Nepal’s foremost historian Babu Ram Acharya for unearthing and rewriting much of Nepal’s history and rectifying its misconceptions that had been taken as facts. He was called the foremost historian of Nepal, an extraordinary astrologer, an astute littérateur and a formidable researcher and reconstructionist.)
Source : The Himalayan Times


मनोज दाहाल 

प्राध्यापक दिनेशराज पन्तसँग कुनै तहको डिग्री छैन, एक कक्षाको पनि। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठका यी गुरु तैपनि विद्यार्थीलाई अनुसन्धान सिकाउँछन्। इतिहास र दर्शनका थुप्रै पक्ष प्रामाणिकताका आधारमा व्याख्या गर्छन्। 


कसरी सम्भव भयो?
उनले ५३ वर्षसम्म एकजना प्राध्यापकसँग लगभग दैनिकजसो पढिरहे। जन्मेदेखि १० वर्षअघिसम्म पनि। सुरुसुरुमा कयौं वर्षसम्म त दिनको १६ घन्टासम्म। उनले स्कुल खोज्दै घरबाहिर निस्किनै परेन। इतिहास र संस्कृतिको गहिरो ज्ञान राख्ने प्राध्यापक नयराज पन्त उनका बुबामात्र थिएनन, गुरु पनि थिए। दिनेशराजकै शब्दमा भन्ने हो भने, विश्वविद्यालय नै। यद्यपि यो विश्वविद्यालयले कुनै प्रमाणपत्र जारी गर्दैन थियो। १० वर्षअघि बुबाको मृत्युसँगै दिनेशराजले आफ्ना प्राध्यापक वा विश्वविद्यालय पनि गुमाए। 


प्रमाणपत्र जारी नगर्दैमा हासिल गरेका सबै ज्ञान दिमागबाट फुर्रर्र उडेर जाने त होइनन्। सयमा तेत्तीस नम्बर ल्याएर क्याम्पसको पढाइ सक्दैमा विद्यार्थी ज्ञानी हुने त होइन। ज्ञानी हुने त परै जाओस्, सयमा तेत्तीस नम्बर ल्याए पास हुने शिक्षा प्रणाली जसलाई नयराज ‘त्रिखण्डी विद्या' भन्थे, बाट उत्रेका विद्यार्थीले पनि ज्ञान त त्यसपछिमात्र विभिन्न माध्यम र स्रोतबाट हासिल गर्छन्। अहिले नै पनि एमए पास गरेको विद्यार्थीलाई थपक्क ल्याएर राख्दियो भने उसले विश्वविद्यालयमा सिकेकै आधारमा कुनै काम कुशलतापूर्वक गर्न सक्दैन भन्न प्रमाण जुटाइरहनु पर्दैन। 


बनारसबाट सिद्धान्त ज्यौतिषमा आचार्य सकेर फर्केका नयराजलाई २५ वर्ष उमेरमा आजभन्दा ७५ वर्षअघि नै ‘घोकन्ते शिक्षा प्रणाली' चित्त बुझेन। बनारसमै उनले ‘त्रिखण्डी विद्या'को अनुगमन गरिसकेका थिए। किताब कण्ठाग्र पार्ने विद्याले भलो हुँदैन भन्ने महसुस गरेका नयराजले अनुसन्धानमा आधारित शिक्षा प्रणालीका पक्षमा केही काम सुरु गर्ने विचार गरे। प्रजातन्त्र आउनुभन्दा करिब १२ वर्षअघि उनको मनमा रहेको क्रान्तिकारी शिक्षा प्रणालीको दर्शन व्यवहारमा उतार्न सजिलो थिएन। सकिएन। तैपनि उनले आफ्नो संगतमा आएका विद्यार्थी र जिज्ञासुलाई भने इतिहास, संंस्कृति र अन्य थुप्रै विषयमा प्रामाणिकताको खोजी गर्दै अनुसन्धानमा आधारित काम गर्न प्रेरणा दिन थाले। 


सात सालको प्रजातन्त्रपछि नयराजले त्यतिञ्जेल विदेशीले गरेका अनुसन्धानका आधारमा छापिएका वा प्रकाशमा आएका नेपाली इतिहास तथ्यभन्दा कथामा आधारित भएको निष्कर्ष निकाली संशोधनको काम सुरु गरे, आफ्नो शिक्षा प्रणालीमा आएका केही विद्यार्थीसँग मिलेर। कल्पना र सत्यको मिश्रणबाट तयार नेपाली इतिहास संशोधनको पहिलो गहकिलो काम २००९ सालमा सार्वजनिक भयो। नयराज स्कुलका केदारमणि आदि, महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारीबाट प्रकाशित त्यो ‘इतिहास संशोधन'को श्रृंखला २०२५ सालसम्म आइपुग्दा ६८ पुगे। यी अनुसन्धानले नेपालको इतिहास पुनर्लेखन गर्ने बाटोमा सघाएका छन्। 
६० वर्षअघि यसरी नेपालको इतिहासलाई पुनर्लेखन गर्ने अभ्यास सुरु गरेको संशोधन मण्डलबारे अहिले जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएपछि बल्ल मिडियामा फाट्टफुट्ट चर्चा हुन थालेको छ। 

क्रान्तिकारी शिक्षादर्शन
नयराज जसले घोकन्ते शिक्षा प्रणालीलाई फेर्ने दर्शन मनमा राखेर ४० विद्यार्थीको उपस्थितिमा प्रजातन्त्र आउनु केही वर्षअघि आफ्नै घरमा स्कुल चलाउन सुरु गरेका थिए, उनी मौलिकताका पक्षधर थिए। संस्कृत र प्राचीन संस्कृतिको हाम्रो मौलिक परम्परा नै यहाँको माटो सुहाउँदो छ भन्ने विचार राख्थे उनी। 
‘कलेज गएर आइए, बीए पास नगरी' जीविका गर्न सकिँदैन वा खेतीकिसानी नै गर्नुपर्छ भन्ने मान्यता राख्ने समाजमा ‘नयराज पन्त स्कुल' लामो समय टिक्न सकेन। २०१९ सालमा यो स्कुलले ‘संशोधन मण्डल'को नाउँ पायो जसमा त्यतिखेर नयराज र उनका चेलाचपेटा गरी दस सदस्य थिए। तीमध्ये दुई थिए- नयराजकै छोरा महेशराज र दिनेशराज। नयराजका यी दुई छोराले नै अहिले ‘संशोधन मण्डल' धानिरहेका छन् जुन दिनेशराजका आधुनिक शब्दमा ‘मिनी रिसर्च सेन्टर' हो। ‘हाम्रो सेखपछि यो सेन्टर पनि मासिएर जाला,' दिनेशराज भन्छन्। ६३ वर्षीय दिनेशराज र उनीभन्दा छ वर्ष जेठा महेशराज अहिले आफ्ना अनुसन्धानात्मक रचना २०२५ सालमा बुबा नयराजले स्थापना गरेको पत्रिका ‘पूर्णिमा'मा छपाउँछन्। इतिहास-प्रधान त्रैमासिक भने पनि अहिले अर्धवार्षिकजस्तो बनेको ३ सय प्रति छापिने ‘पूर्णिमा'नै यतिखेर नयराज पन्त स्कुलको त्यो क्रान्तिकारी शिक्षादर्शनको अवशेष हो। 

प्रामाणिक इतिहासका अभियन्ता 
नयराज पन्तअघि बाबुराम आचार्यले मात्र नेपालको इतिहासलाई प्रामाणिकताको कसीमा जाँच्न थालेका हुन्। त्यसअघि विदेशीले दोस्रो स्रोतबाट जम्मा गरेको टिपोटका आधारमा लेखिएका इतिहासमा कल्पनाको अंश धेरै हुन्थ्यो। सम्भवतः नयराज त्यस्ता व्यक्तित्व हुन् जसले नेपालको इतिहासबाट कल्पनाको अंश निकाल्ने दिशामा अहिलेसम्म सबैभन्दा बढी योगदान पुर्‍याएका छन्। करिब २० पुस्तकका रचनाकार नयराजले नेपाली इतिहासलाई ट्र्याकमा ल्याउन गरेको प्रयास अहिले उनका दुई छोराले धानिरहेका छन्। 
उनी प्रामाणिकताका आधारमा अशुद्धि सच्याउँथे र आफ्ना विद्यार्थीलाई पनि गम्भीरतापूर्वक काम गर्न प्रेरित गर्थे। उनीसँग अनुसन्धान, पढाइ वा काममा कुनै ठगी चल्दैन थियो। वंशावली, तिथ्यावली र अभिलेख खोज्दै इतिहास संशोधन गर्ने उनको अभियान निधनअघिसम्म पनि निरन्तर रह्यो। 


बुबाले प्रामाणिक इतिहासमा जोड दिएको र आफू पनि अहिले त्यही परम्परा धानिरहेका् बताउने दिनेशराज सरकारले इतिहास-संस्कृतिमा गरेको लापरबाहीले भने आजित छन्। सूचना विभागले हालसालै निकालेको ‘नेपाल परिचय' मा पाटनका राजा श्रीनिवास मल्ललाई काठमाडौंका राजा लेखेको पढेर उनी हाँसेनन् मात्र, मुर्मुरिए पनि। ‘सरकारले निकाल्ने थुप्रै किताब र पाठ्यक्रम विकास केन्द्रका सामग्रीमा यति अशुद्धता छन् कि दिग्दार लागेर आउँछ,' उनी भन्छन्। यसको दोष उनी अपूर्ण विद्यालाई दिन्छन् र बुबाकै शब्द सापटी लिँदै नेपालको त्रिखण्डी शिक्षा प्रणालीले ज्ञानको खोजी गर्न सघाउने होइन, जागिरे मनोवृत्तिको विकासमात्र गर्ने बताउँछन्। 

दिनेशराजको यात्रा
नयराज पन्त स्कुलका उत्पादन दिनेशराजलाई जागिर पाउन कम्ती हम्मे परेन। २०३१ सालमा उनले बल्लतल्ल वाल्मीकि विद्यापीठमा अनुसन्धान सहायकको जागिर पाए। बुबा, प्राध्यापक, विश्विद्यालय जे भने पनि नयराजको पे्ररणाले प्रामाणिकताको खोजीमा उत्रिएका दिनेशराजको क्षमता डिग्रीले छेक्न सकेन। उनी उपप्राध्यापक, सहप्राध्यापक हुँदै निरन्तर इतिहास अनुसन्धानमा डटिरहे। 


डिग्री लिएर आएकाहरूले उनलाई अघि बढ्न नदिने खुबै प्रयास गरे। डिग्री नभएकै कारण उनले २५ वर्षसम्म अस्थायी रहनुपर्‍यो। १३ वर्षअघि भने बल्ल उनी स्थायी प्राध्यापक भए। 


आफूलाई ‘संशोधन मण्डल पाठशाला'बाट इतिहास र संस्कृतिमा उच्च अध्ययन गरेको व्यक्तिका रूपमा चिनाउने दिनेशराजले अहिलेसम्म नेपालको इतिहास र संस्कृतिबारे करिब अढाइ दर्जन अनुसन्धानात्मक कृति प्रकाशन गरिसकेका छन्। 


दिनेशराज र उनका छोराहरूसम्मको पुस्तामा आइपुग्दा इतिहास र संस्कृतिप्रतिको प्रेमले उनीहरूलाई दिएको एउटा पुरस्कार खस्किँदै गएको पन्त परिवारको आर्थिक अवस्था हो। इतिहासप्रतिको अतिशय प्रेमले धुवाँकोटको खानदानी पन्त परिवारको इतिहास भने महाबौद्ध, वटु, एकान्तकुना हुँदै अहिले धुम्बाराहीको साँघुरो घरमा समेटिएको छ। दाजु महेशराज भने काठमाडौं डल्लुमा बस्छन्। 


दिनेशराजले धुम्बाराहीस्थित दुईतले घरको पहिलो तला हजुरबा, बुबा र आफूले संकलन गरेका पुस्तकले भरेका छन्। ‘इष्टमित्र आउँछन्, यी पुस्तक के गर्छौ भनेर सोध्छन्,' दिनेशराज भन्छन्, ‘म बाँचुन्जेल मलाई अनुसन्धान गर्न यी पुस्तक चाहिन्छन्, मेरो सेखपछि के हुन्छ भन्ने चिन्ता अहिले म गर्दिन।' 

नेपाली नै राम्रो
हाम्रो देशको सबै क्षेत्रमा विदेशी पद्धति र योजनाको दबदबा भए पनि त्यसले नेपाली मौलिकतालाई कहिल्यै चुनौती दिन नसक्ने दिनेशराज बताउँछन्। उनले वि.सं. १६२० मा नेपाली कालिगढीले बनेको तलेजु मन्दिरको उदाहरण दिँदै भने, ‘१८९०, १९९० का दुई ठूला भूकम्पमा पनि त्यो मन्दिर केही भएन, जबकि विदेशी शैलीले बनेका धरहरा र घन्टाघर भने पछिल्लो नब्बे सालमै क्षतविक्षत भए।'


पश्चिमी कालिगढी नेपालमा काम लाग्दो रहेनछ भनी बुझाउने सशक्त उदाहरण यसलाई मान्छन् दिनेशराज। ‘इतिहासकै क्षेत्रमा पनि इटालीका रेनी ओ रोनीभन्दा यहाँकै धनबज्र वज्राचार्यले पढेको पाठ काम लाग्यो,' उनी भन्छन्, ‘त्यसैले विदेशी होइन, नेपाली पद्धतिले यहाँको मौलिकता र यथार्थ वास्तविक रूपमा प्रकट गर्न सक्छन्।' 
दिनेशराज जसले कहिल्यै नयराज पन्त स्कुलबाहेक अन्यत्र पढेनन्, का भनाइमा नयराजले सुरु गरेको प्राचीन विद्याको अनुसन्धान गरेर त्यसलाई नयाँ रूपमा लैजाने पद्धति अहिले पनि नेपालको शिक्षा प्रणाली सुधार्न उपयुक्त हतियार बन्न सक्छ।

गोरखादेखि काठमाडौंसम्म
नयराजका बुबा अर्थात दिनेशराजका हजुरबा कृष्णदत्त पन्त तीनधारा संस्कृत पाठशालामा पढाउँथे। गोरखा धुवाँकोटका कृष्णदत्तले गुरुज्यू खलककी छोरी बिहे गरेपछि ससुराली नजिकै काठमाडौं महाबौद्धमा डेरा लिएका थिए जहाँ नयराजको जन्म भयो।

कृष्णदत्त त नयराज डेढ वर्षकै छँदा बितिहाले, नयराज मावलीघरमै हुर्केबढे। बनारसबाट आचार्य सकेर फर्केपछि भने १९९८ मा उनले मावलीनजिकै वटुमा घर बनाए जहाँ महेशराज र दिनेशराजको जन्म भयो।
भारतबाहेक अन्य विदेशी भूमि नटेकेका नयराज विदेशीहरूसँग सम्पर्क नगर्ने स्वभावका थिए। भन्थे, ‘विदेशीले हाम्रो देशको उन्नति गर्दैनन्, आफ्नो स्वार्थमात्र हेर्छन्, उनीहरूसँग बढी भर पर्नु हुँदैन।'


Source : http://www.nagariknews.com/saturday/46645-2012-09-22-03-14-40.html

No comments:

Post a Comment