Wednesday, July 25, 2012

एउटा सुपरस्टारको अन्त्य

प्रकाश  सायमी

सन् १९६४ भारतीय चलचित्र जगत्मा ऐतिहासिक घटना मानिन्छ। यही वर्ष फिल्मफेअर पत्रिकाले प्रसिद्ध अभिनेता, निर्माता, निर्देशक गुरुदत्तको आत्महत्या, पतन र सफलताको कथासहित विशेषांक प्रकाशित गर्‍यो। त्यही वर्षको अर्को महिना फिल्मफेअरले युनाइटेड प्रोड्युसर्ससित मिलेर नयाँ प्रतिभा खोजीका क्रममा पञ्जाब अमृतसरमा जन्मेका जतिन खन्नालाई नायकका रूपमा छान्यो।

सन् १९६५ मा यिनै जतिनले राजेश खन्ना नामबाट चेतन आनन्दद्वारा निर्देशित 'आखरी खत' बाट पहिलो पाइला सुरु गरे। एक वर्षपछि यो चलचित्र रिलिज भयो तर चलेन। अर्को वर्ष उनकै 'राज' रिलिज भयो, त्यो पनि चलेन। फिल्मफेअर-युनाइटेड प्रोड्युसर्सले यसअघि नन एक्टरका रूपमा परिचित धर्मेन्द्रलाई पनि पर्दामा ल्याएका थिए। उनी पनि चलेका थिएनन्। चलचित्र जगत्मा नेपाली कदका देखिने भएकाले राजेश खन्नालाई सुरुमा गोर्खे हिरो भनेर हेपिन्थ्यो। दुई वटा असफल फिल्मको धक्का खाइसकेका यी गोर्खे हिरो नेपालीको बाहुल्य भएको पहाडी राज्य गोर्खाल्यान्ड आइपुगे, बंगालीभाषी फिल्मकार शक्ति सामन्तको 'आराधना' सुटिङ गर्न । दार्जीलिङमा स्वागतार्थ सामन्तका नेपाली मित्रले एलिस भिल्लामा उनलाई कालो भादगाउँले टोपी दिए। त्यही टोपी लगाएर उनले दार्जीलिङको उकालीमा 'मेरे सपनोँ के रानी कब आएगी तू' गाएपछि
उनी सफलताको उकालो चढको चढ्यै भए।

गोर्खाल्यान्डमा पाएको भादगाउँले टोपीले उनका आँखाको भावप्रवणशीलता अनि सुरम्य मुखमोहोडालाई पर्दामा स्टारको रूपमा रूपायित गरिदियो। यो एउटा कथा यहीँबाट सुरु भयो। उनी कहलिए सुपरस्टार। यो पगरी पाउने उनी हिन्दुस्तानका पहिलो कलाकार मानिए। उनका प्रचारप्रसार प्रमुख हरिशकुमार मेहरा र के राजदानले यो पदवीलाई राष्ट्रियकरण गरेर छाडे। थ्री बीग (देव आनन्द, दिलीपकुमार र राज कपुर) को अपार सफलता, शम्मी कपुरको याहु अनि जुबिलीस्टार राजेन्द्र कुमारको सौर्यकै बीचमा राजेश खन्नाले ६९ देखि ७२ सम्म चार वर्षमा १५ सुपरहिट चलचित्र दिए, त्यो पनि एकल नायकका रूपमा। यही सफलताले उनको जीवनमा रातारात परिवर्तन ल्यायो। उनी स्टार, सुपरस्टार अनि सुप्रीमस्टारको पदवीबाट पुजिन थाले। उनलाई आफ्ना प्रशंसक र समर्थकले उचालेको उचाल्यै गरे। उनले कहिल्यै धरातल देखेनन्।

उनका असंख्य किंवदन्ती बने। उनलाई ज्वरो आउँदा उनका महिला फ्यानले तस्बिरमा जल छर्के, उनीसित अनुमति नलिईकन कैयन् युवतीले सिन्दूर हाले, उनको बीएमडब्ल्यु कारमा लिपिस्टिकको अनगन्ती दाग भेटिनु, उनको गुरुसर्टको लोकप्रियता, 'हाथी मेरे साथी' को सफलतापछि अभिभावकले आफ्ना बच्चालाई राजेश खन्नाको स्वर्ण स्पर्श (हिलिङ टच ) दिलाउने क्रम बढ्दै जानु र उनको बिहेको खबरले ५० हजारभन्दा बढी युवतीले आत्महत्याको घोषणा गर्नुजस्ता घटनाले राजेश खन्ना बिस्तारै ईश्वरीय जीवन बाँच्न थाले। त्यति बेला भर्खर उदाएका नवनायक अमिताभ बच्चनले सन् १९७२ सेप्टेम्बर २२ मा सिने गोयर्स क्लब बम्बई फिल्म सोसाइटीको प्रेस क्लबमा आफ्नो बिहेको प्रसंग उठ्दा यस्तो जवाफ दिएका थिए, 'म अहिले बिहे गर्नेवाला छैन। बिहे फिल्मस्टारको निम्ति सामान्य समस्या हो, हाम्रा प्रिय अभिनेता राजेश खन्नाले आज बिहे गर्न चाहे भने ५० हजारभन्दा बढी महिलाले आत्महत्या गर्नेछन्। हुन त म उहाँकोे श्रेणीमा छैनँ तर पनि मजस्तो कलाकारसित बिहे गर्न हिम्मत भएकी बुझक्की महिला चाहिन्छ।'

अमिताभको जवाफले नै राजेश खन्नाको लोकप्रियताको अनुमान गर्न सकिन्छ। खन्नाको लोकप्रियता बढ्दै गएपछि फिल्म एसोसियसनले एकपटकमा छ वटाभन्दा बढी चलचित्र खेल्न नपाउने नियम लागू गर्‍यो जसको घोर भर्त्सना भयो। 'आराधना' सफल भएपछि उनका अर्का एक निर्देशक जे ओमप्रकाशले 'अ' नामबाट मात्र फिल्म बनाए, 'आप की कसम' देखि 'अमृत' सम्म। यसमा उनका अरु सफल चलचित्र आन मिलो सजना, अनुरोध, अवतार, आखिर क्योँ पनि पर्छन्।

राजेश खन्नाको उदयसँगै संगीतकार आरडी बर्मन, गायक किशोरकुमार, अनि गीतकार आनन्द वक्षी पनि टिकिरहे। उनका नायिका मुमताज, केश विन्यासक हकिम किरानवी, नृत्य निर्देशक सोहनलालजी पनि खुबै चले। एउटा अद्भूत कुरा के रह्यो भने मल्टीस्टार चलचित्रको युग आइसक्दा पनि राजेश खन्नाले एकल नायककै रूपमा सयभन्दा बढी चलचित्र धानिरहे। यसमा कति त अत्यधिक चले। यही सफलताले खन्नालाई उग्र अहम्को सिकार बनायो। बिस्तारै हिटलर शैलीको उनको नायकीय जीवन, नायिकाको संवाद पनि आफैँ खोसेर बोलिदिने, अनि आफ्ना सहकलाकारलाई हटाउने आदि उनका खराब बानी इन्डस्ट्रीमा आलोचनाको विषय बन्न पुग्यो। राजेश खन्नाको चक्लिङ आइज, दायाँ कुम माथि दुवै हात लगेर नचाउने स्टाइल, अनि हत्केलाले दुवै ओठ छोपेर गरिने उनका भावलीन अभिनय, प्रवचनीय शैलीको लामो डायलग डेलिभरी उनमा पुनरुक्ति हुन थाल्यो। उनी अलोकप्रिय बन्दै गए।

खाट्टी पञ्जाबी परिवारमा जन्मिएका राजेश खन्नालाई चलचित्र उद्योगमा बढ्दै गएको इस्लामीकरणको ज्ञान नहुनु अनि गुट उपगुट बढ्दै गएको परिघटनाबाट अपरिचित रहनु, सदैव आफ्नै सुपरिचितको घेरामा रहिरहनुले विस्तारै ओझेल पार्दै लगे। उनी आफैँले स्थापित गर्न खोजेका लेखकद्वय (सलिम-जावेद) सित मनमुटाव बढ्नु, जावेद अख्तरलाई सुटिङ स्पटमै गालामा झापड हानेपछि उनले नै नयाँ एंग्री यंगम्यानको परिकल्पना गर्नु, उनका पक्षधर निर्देशक यश चोपडा, मनमोहन देशाई, रमेश सिप्पी, हृषिकेश मुखर्जीसित विस्तारै दुरी बढ्नु उनको उग्र अहम्को परिणाम बन्न पुग्यो। प्रसिद्ध मराठी लेखक महेश एलन्कुञ्चवारले भनेका छन्, 'सफलताको उचाइ हुन्छ तर त्यहाँ टिकिरहन सक्ने हावा हुँदैन। कुनै पनि बेला झर्नुपर्छ।' त्यस्तै भयो सुपरस्टार राजेश खन्नाको जीवनमा, त्यो क्षण पनि छिट्टै आयो, उनी नपत्याउने किसिमले किंवदन्ती बन्दै गए।

आफ्नो गर्वशाली अतीतको दुर्दान्त पाटो सम्भि्कँदै उनले सन् १९९० मा एकपटक फिल्मफेअरलाई भनेका थिए, 'गल्तीहरू मेरै हुन्। मलाई ज्ञानै थिएन कसरी मैले त्यस सफलताको चरम चुलीलाई समाल्ने?' उपाय बिस्तारै खस्किँदै गएपछि उनले फर्केर पनि हेर्न सकेनन्। बम्बई चलचित्र नगरीमा संघर्षको बेला नै जीप हाँकेर काम माग्न हिँड्ने राजेश खन्नाले आफ्ना असफलताका दिनमा झन् कसैसित हात जोड्न सकेनन्। सम्बन्ध चाइनिज रेडियोजस्तै बिग्रे पनि बनाउन सकिन्छ भन्ने सूत्रका अनुयायी भए पनि उनले कहिल्यै पुराना साथी-सहकर्मीसितको कटुता मेट्न सकेनन्। फलःस्वरूप उनी आफ्नाबाट पराई अनि परायाबाट अपरिचित हुँदै गए।

प्रसिद्ध गसिप पत्रकार हेड्डा होप्परले भनेकी छिन्, 'जब उसको पोस्टबक्समा पत्र आउन छाड्छ, जब उसको घरमा प्रशंसकको फोनको घन्टी बज्न छाड्छ, त्यसपछि स्टारको अवसान भएको बुझिन्छ।' दुर्भाग्यले त्यो दिन पनि आयो राजेश खन्नाको जीवनमा। उनका वरिपरि तिनै दस-एघार जना पात्र थिए जो सधैँ उनलाई वाहवाह गरिरहन्थे। उनले खुवाएको रक्सीमा रातभरि उनका प्रतिस्पर्धीलाई गाली गर्थे ... त्यही मातमा राजेश खन्ना सारा समयसत्रलाई शत्रु मान्थे।

उनले चाहेर पनि सम्बन्धहीन भइसकेकी पत्नी डिम्पल कपाडिया र आफ्ना निकटवर्ती प्रतिस्पर्धी अमिताभ बच्चनबाहेक कसैसित सम्बन्ध नवीकरण गर्न सकेनन्। डिम्पलले उनलाई उनकै चलचित्र 'जय जय शिव शंकर' मा निःशुल्क खेलेर सहयोग गरिन् भने अमिताभले आफ्नै आयोजनामा आइफा अवार्डमा उनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिलाएर सम्मान गरे। यी दुई घटनाले उनको जीवनमा सापेक्षिक प्रभाव पारे पनि आमूल परिवर्तन गर्न सकेनन्। उनलाई समयको शक्तिले किनारा लगाइसकेको थियो।

भारतीय चलचित्र जगत्का पहिलो सुपरस्टार राजेश खन्नाको देहान्त यही साउन ३ गते बुधबार भएको मानिन्छ। तर, ३० वर्षभन्दा बढी उनका ड्राइभर रहेका दीपक अधिकारीका अनुसार खन्नाको 'देहान्त' अस्सीको दशकमै भइसकेको थियो।' स्याङजा जिल्लाको बिर्घा निवासी दीपकले राजेश खन्नाको सफल जीवनदेखि पतनको अवस्थासम्म दुई सग्ला आँखाले ३० वर्ष हेर्नुपर्‍यो।

भारतीय दर्शकका प्रिय, आफ्ना 'साहेब'को घनघोर अवसादका दिन चालक दीपक साहेब नसुतेसम्म कारमा उँघेर बस्नुपर्थ्यो। रक्सीले उन्मत्त आफ्ना साहेबलाई पछाडि राखेर मध्यरातको मुम्बई सहरका सुनसान सडकमा ७०-८० किलोमिटर वेगमा कार कुदाएर सुताउने अनि बिहान ५ बजेतिर साहबलाई पलङमा लगेर लडाउँथे। अनि अर्को दिन साहब नउठेसम्म दीपक र उनका सहकर्मीहरू उनलाई घर बाहिर पर्खेर बस्थे। जुबली स्टार राजेन्द्र कुमारसित किनेको आशीर्वाद नामको घर बनाउँदै गर्दा राजेश खन्नाको आफ्नो घरचाहिँ ध्वस्तन्यस्त भइसकेको थियो। उनको जीवनमा त्यति बेला एकांकीपनबाहेक केही थिएन। उनीभन्दा १४-१५ किलोमिटर पर खारमा बस्ने प्रेमिका टीना मुनिम उनलाई छोडेर भारतको सम्भ्रान्त अम्बानी परिवारमा बुहारी भएर गइसकेकी थिइन्। आफूभन्दा १५ वर्ष कान्छी पत्नी डिम्पल कपाडियाले पारपाचुकेको कागज वकिलकहाँ थन्काएर माइतीघर फर्किसकेकी थिइन्। तिनी एकल महिलाका रूपमा समुन्द्र महलमा बस्न थालिसकेकी थिइन्। तिनले पतिको इच्छाविरुद्ध चलचित्रमा पुनर्प्रवेश गरिसकेकी थिइन्। जीवनमा सफलताको प्वाँख बनेको शब्द सुपरस्टार उनका निम्ति ऐनाभित्रको आकाश भइसकेको थियो।

राजेश खन्नाले यस्तो जीवन करिबकरिब बीस-बाइस वर्ष बाँचे। उनी सफलताको सिँढी चढ्दै गर्दा जोजो उनका तल थिए, उनी झर्दा ती सबै माथि पुगिसकेका थिए। राजेश खन्नाको जीवन आफैँमा एउटा मिथकजस्तो बन्न पुग्यो। उनी कम समयमा उदाए र छिट्टै उनको सौर्य शक्ति पनि सेलाउँदै गयो।

मध्यान्तरपछि आफ्ना असफलताका दिनमा आफ्नो चलचित्र 'दाग' को एउटा 'नज्म' सभा-समारोहमा खुब सुनाउँदै हिँड्थे। प्रसिद्ध उर्दू कवि साहिरको यो 'नज्म' उनकै जीवनलाई हेरेर लेखिएजस्तो भयो ..

इज्जतेँ, शोहरतेँ, चाहते, उल्फतेँ
कोइ भी चीज दुनियाँ मे रहते नहीँ
आज मै जहाँ हुँ कल कोइ और था
यही भी एक दौर है वह भी एक दौर था।।


राजेश खन्नाको देहान्तपछि धेरै मिडियाले उनको पतन हुनुमा अर्का सुपरस्टार अमिताभ बच्चनको उदयलाई कारण मानेका छन्। तर, त्यो त्यति नै हास्यास्पद तर्क हो जति अमिताभ उदाएपछि रोमान्टिक चलचित्रको युग अन्त्य भयो भनिन्छ। राजेश खन्ना र अमिताभको दुरी 'नमक हलाल' पछि बढेको स्वभाविक हो तर अमिताभ बच्चनले राजेश खन्नाको छविमा केही विनाश गरेको देखिँदैन। बरु अमिताभ स्वयंले राजेश खन्नाले अस्विकारेका चलचित्र खेलेर परम्परा धानेको पाइन्छ। कवि प्रेमीकोे रूपमा अमिताभले पनि रोमान्टिक चलचित्र कभीकभी, सिलसिला, खेले भने ८० दशकको अन्त्यसम्ममा त राजेश खन्नाले पनि आफ्ना फरक शैलीका चलत्रि दिइरहेका थिए। तीमध्ये वृद्धको भूमिकामा अवतार, असफल पतिको भूमिकामा थोडी सी बेवफाई, अनि नयाँ पुस्तासितको सहकार्यमा सौतन, स्वर्ग उनकास्मरणीय केही चलचित्र अवश्य हुन्।

राजनीतिक धारको चलचित्र आजका एमएलए, रामअवतार खेलेपछि उनकै पदचाप पछ्याउँदै जीतेन्द्रले मेरा देश र अमिताभ बच्चनले इन्कलाब खेलेको पाइन्छ। तर, दुई नायकको द्वन्द्वभन्दा निर्माता-निर्देशकको प्रतिस्पर्धा त्यति बेला प्रस्ट देखिन्थ्यो। बारम्बार भनिएको एउटा कुराचाहिँ सही हो, राजेश खन्नाले समयअनुसार आफूलाई बदल्न सकेनन्। उनी खस्किँदै गए र उनलाई सफलताले साथ छोड्दै गयो। यो त मायानगरीको चलनै हो। गुरुदत्त, श्याम, विश्वजीत, उत्तमकुमारजस्ता थुप्रै नायक यसका कारण बनिसकेको इतिहासमा राजेश खन्नाले आफूलाई सुधार्न सकेनन्। सन् १९६९ देखि १९७२ सम्मको आफ्नो सुपरस्टारडमको ब्याजमा उनले बाँकी जीवन बाँचे।

बलेको आगो ताप्ने बम्बई मायानगरीमा उनलाई वाहवाह गरेर ठग्ने, लुट्ने अनि बर्बाद गर्ने एकातिर थिए भने उनको असफलतापछि पिठिउँ फर्काएर हिँड्ने उनका भक्तको लस्कर पनि प्रशस्तै थियो। वैवाहिक जीवनको असफलता, आयकर विभागबाट आँखा छल्न लुकाएको धन नफर्किनुजस्ता आर्थिक संकट, प्रसिद्धिमा दाग अनि आफूभित्र फैँलिदै गरेको उग्र अहम्ले उनलाई विक्षिप्त बनाउँदै लगेको थियो। उनी चलचित्र आउनुभन्दा दस वर्षअघि गुरु दत्तले सन् १९५९ बनाएको चलचित्र 'कागज के फूल' का नायकजस्तै भए उनी। यसै चलचित्रको गीत उनको जीवनकथा बन्न पुग्यो-

देखी जमाने की यारी
विखडे सभी बारी बारी


Source : http://www.nagariknews.com/saturday/43704-2012-07-21-10-01-37.html